निर्यात व्यवसायी महासंघ प्रतिनिधीमण्डल र उद्योग एवम् स्वास्थ्य मन्त्री बीच छुट्टाछुट्टै भेट
Devil Singh Rajput
Jun-17 , 2021 तारिख 05:25 बेलुका


काठमाडौं- निर्यात व्यवसायी महासंघ प्रतिनिधीमण्डलले आज नवनियुक्त उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री राज किशोर यादव र स्वास्थ्य मन्त्री शेर बहादुर तामाङलाई  भेट गरेको छ । गण्डकी प्रदेश प्रदेश सभा सदस्य समेत रहेका निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष  रामबहादुर गुरुङ नेतृत्वमा उपाध्यक्ष शंकर पाण्डे, उपाध्यक्ष दुर्गा बिक्रम थापा, उपाध्यक्ष गोविन्द घिमिरे, कोषाध्यक्ष किरण कुमार डंगोल तथा सहकोषाध्यक्ष शान्ता बास्कोटा कोइरालाको सहभागीता रहेको टोलीले आज दिउँसो एक बजे नव नियुक्त उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री यादव र दुई बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङसँग  छुट्टाछुट्टै भेट गरेको हो ।  


उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीसँगको भेटका क्रममा महासंघ प्रतिनिधीमण्डलले मन्त्री यादवलाई आफ्नो कार्यकालमा उत्पादन तथा निर्यात व्यापार व्यवस्थित बनाई मुलुकलाई आर्थिक संमृद्धि तिर डोर्याउन महत्वपुर्ण  भूमिका खेल्न आग्रह गर्दै शुभकामना  व्यक्त गरेका थिए । उक्त भेटमा महासंघले निर्यात क्षेत्रमा रहेका संभावना र चुनौतीका बिषयमा छोटो ब्रिफिङ गरेको थियो भने उक्त अवसरमा मन्त्री यादवले निर्यात क्षेत्र नै व्यापारघाटा कमगरी देश संमृद्ध बनाउने मुख्य आधार भएकोले आफू यस क्षेत्रको विकास तथा प्रर्वद्धनका लागि लागिपर्ने उल्लेख गरे ।   

त्यसै गरी आज अपरान्ह दुई बजे निर्यात व्यवसायी महासंघ नेपालको टोलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री सँगको भेटमा उनको कार्यकालमा उत्पादन तथा निर्यात व्यापार क्षेत्रलाई प्राथमिकतामा राखि कोभिड १९ को संकटबाट मुक्त गराउन महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । साथै अध्यक्ष गुरुङले निर्यात व्यवसाय अत्यन्त संवेदनशिल क्षेत्र भएको र विगत डेढ महिना भन्दा अगाडी देखि जारी निषेधाज्ञाका कारण निर्यातजन्य उद्योगहरु पुर्ण रुपमा प्रभावित रहेको जानकारी गराएका थिए । टोलीले निर्यात क्षेत्रमा हाल भैरहेका मागहरुको समय मै डेलिभरी दिन नसक्दा अर्डर क्यान्सिल हुने, त्यसको क्षतिपूर्ति पनि नहुने र सिजनको लागि नयाँ नमुना वस्तुहरु उत्पादन गर्नको लागि उद्योग सञ्चालन अतिआवश्यक रहेको हुँदा यस सम्बद्ध उद्योगी, व्यवसायी, कर्मचारी तथा मजदुरलाई प्राथमिकतामा राखि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराई निर्यातजन्य क्षेत्र संञ्चालनको लागि सहज वातावरण सृजना गरिदिन आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो । उक्त भेटमा मन्त्री तामाङले निर्यात व्यापार नै देश संमृद्धिको प्रमुख आधार भएकाले थप खोपको उपलब्धता हुने बित्तिकै निर्यात क्षेत्रलाई प्राथमिकतामा राखि खोप कार्यक्रम संञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related Post