News Desk
काठमाडौं ५ असार- कांग्रेसले शुक्रबार मात्र १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई अन्तिम रुप दिएको छ, जसअनुसार केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुनेछ ।आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन् ।आफ्नो समूहका नेताहरुसँग छलफल थालेका देउवाले शनिबार दिउँसो प्रदेश २ का नेताहरुलाई भेटेका थिए । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरु सहभागी थिए ।
देउवाले आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरे ।
उपसभापति निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताए । आफूले यसअघि पनि भनेको स्मरण गराउँदै उनले भने, ‘तपाई प्रधानमन्त्री बन्नुस्, म आफूले सहयोग गर्छु । सभापतिमा तपाईंको समर्थनमा म लड्छु ।’
लामो समयदेखि आफ्नो समूहमा रहेका निधिको प्रस्तावलाई सभापति देउवाले सहज रुपमा नलिएको एक नेताले बताए । उनका अनुसार देउवाले ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए ।
निधिले भने आफू लामो समयदेखि टिममा रहेको र देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए । उनले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न समेत आग्रह गरेको एक नेताले बताए ।
देउवाले भने निधिलाई अर्को पटक सभापति लड्न आग्रह गरेको उनको सचिवालय स्रोतले बताएको छ ।