दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रतीक चिन्ह प्रयोग गरौँ : नेपाल डेरी एसोसिएसन
News Desk
Jun-20 , 2021 तारिख 07:31 बेलुका

काठमाडौं । नेपाल डेरी एसोसिएसनले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रतीक चिन्ह प्रयोग गर्न आव्हान गरेको छ ।एसोसिएसनको तर्फबाट अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालले आइतबार विज्ञप्ति जारी गर्दै प्रतीक चिन्ह प्रयोगका लागि सबै व्यवसायीलाई आग्रह गरेका  हुन् ।

एशोसियनका तर्फबाट अध्यक्ष एवम् महासचिवद्वारा जारी उक्त विज्ञप्तिमा भनिएको छ,“नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह (लोगो) प्रदान गरी प्रतीक चिन्ह (लोगो ) अंकित सवारी साधनलाई निषेधाज्ञा वा अन्य आपतकालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने र दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक समेत सुनिश्चित हुनेछ ।”

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ पास भएको हो ।  उक्त कार्यविधि कार्यान्वयन गर्ने क्रममा गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतीक चिन्ह सार्वजनिक गरेका थिए ।

कार्यबिधि जारी भएर प्रतीक चिन्ह सार्वजनिक भए पस्चात राष्ट्रिय दुग्ध विकास बोर्डले सूचना प्रकाशित गरेर सबै डेरी उद्योगहरूलाई आवश्यक कागजात सहित निवेदन दिन आव्हान गरेको थियो ।

बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा आवश्यक परीक्षणपछि मिति २०७८ जेठ ३० गते बसेको बैठकको निर्णयले दुग्ध विकास संस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) उपलब्ध गराउने निर्णय गरेको थियो । बोर्डले असार २ गते डिडिसी र ४ गते हिमालय डेरीलाई लोगो प्रदान गरिसकेको छ ।