News Desk
काठमाडौं — असार ८, २०७८।
माओवादी केन्द्रले एमालेमा लागेका स्थानीय तहका १४ जना निर्वाचित जनप्रतिनिधिको पद रिक्त गराउन सोमबार निर्वाचन आयोगलाई दोस्रो पटक पत्राचार गरेको छ ।
कारबाहीमा परेकामा २ नगरप्रमुख, १ गाउँपालिका अध्यक्ष, ६ उपप्रमुख र अन्य वडाध्यक्ष तथा सदस्य छन् । माओवादीले यसअघि पद रिक्त गराउन पत्राचार गरे पनि केन्द्रीय समितिको निर्णय नरहेको भन्दै आयोगले प्रक्रिया बढाएको थिएन । सोमबार भर्चुअल बैठक गरेर त्यसबारे निर्णय गरिएको जानकारी माओवादीले आयोगलाई गराएको हो ।
रौतहट मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले दल त्याग गरेको माओवादीले जनाएको छ । रौतहटकै देवाही गोनाही, मौलापुर, फतुवा विजयपुर, माधव नारायण र यमुनामाई नगरपालिका उपप्रमुखहरू क्रमशः परनिया देवी, गौरीशंकर जयसवाल, कान्ति देवी, सिमलाल साह र गीतादेवी साहमाथि पनि दल त्याग गरेकाले कारबाही गरिएको जानकारी माओवादीले आयोगलाई दिएको छ ।
रौतहटका माओवादी नेता प्रभु साह र कैलालीका लेखराज भट्ट एमालेमा लागेपछि उनीहरूनिकट स्थानीय तहका पदाधिकारी कारबाहीमा परेका हुन् ।
यस्तै, कैलाली भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटा, महोत्तरी सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक, ओखलढुंगा चम्पादेवी गाउँपालिका–१ का अध्यक्ष सुरेशकुमार थावा, कैलाली गौरीगन्ज नगरपालिका–४ का वडाध्यक्ष भगिरथी विष्ट, गोदावरी नगरपालिका–१ का शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका–४ का पुरन बीसी तथा सिरहा लहानका सदस्य सतमीलाल दास तातीलाई पनि पदमुक्त गर्न माओवादीले माग गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ (१) मा अर्को दलको सदस्यता लिए वा दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिए वा आफू संलग्न भई अर्को दल खोले दल त्याग गरेको मानिने व्यवस्था छ ।
(कान्तिपुर दैनिक)