४ जना स्वास्थ्य कर्मचारी बर्खास्त
News Desk
Jun-23 , 2021 तारिख 12:41 बिहान

तनहुँ -पीसिआर परीक्षणका लागि सर्वसाधारणबाट रकम लिएका जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र शुक्लागण्डकीका ४ जना स्वास्थ्य कर्मचारीलाई बर्खास्त गरिएको छ । निःशुल्क रुपमा पीसीआर परीक्षण हुने भएपनि ती कर्मचारीहरुले छिटो रिपोर्ट उपलब्ध गराइदिने भन्दै कोरोना परीक्षणको नितजा छिटो दिने भन्दै सेवाग्राहीसँग पैसा लिने गरेको खुलेपछि करार सम्झौता रद्द गरी उनीहरुलाई बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारी अस्पतालबाट पीसिआर रिपोर्ट आउन ढिलाई हुने र निजीबाट छिटो रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणबाट रकम उठाउने फार्मेसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुंगाना, रेडियोग्राफर विधान तिमिल्सिना र सुरक्षा गार्ड मदन श्रेष्ठलाई अस्पताल प्रशासनले स्पष्टिकरण सोध्दै गत जेठ १७ गते निलम्बन गरेको थियो ।

निलम्बित कर्मचारीहरुलाई पहिलो पटक २ दिन र दोस्रो पटक २४ घण्टाको समय दिई स्पष्टिकरण सोधिएकोमा उनीहरुले चितबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुलाई असार ७ गतेको निर्णय बमोजिम निलम्बन भएको मितिदेखि नै तलब लगायतको सुविधा नपाउने गरी केन्द्रसँग भएको करार सम्झौता रद्द गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।