हङकङमा २६ वर्षदेखि प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द
News Desk
Jun-24 , 2021 तारिख 04:31 बेलुका

काठमाडौँ -हङकङमा २६ वर्षदेखि प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द भएको छ । हङकङको प्रजातन्त्र पक्षधर मानिएको उक्त पत्रिका बिहीबार रातिदेखि बन्द गरिएको हो । ट्याब्लोइड आकारमा प्रकाशित हुने उक्त पत्रिकाको कार्यालयमा गत हप्ता अधिकारीहरुले छापा मारेका थिए । पत्रिकाले राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको अधिकारीहरुले दाबी गरेका छन् । पत्रिकाले प्रजातान्त्रिक पक्षको विचारलाई प्राथमिकता दिनुका साथै सेलेब्रिटीका गसिप र सत्तामा रहेका व्यक्तिका बारेमा अनुसन्धनात्मक रिपोर्टहरु प्रकाशित गर्दै आएको बताइएको छ ।

सन् २०१९ को अगस्टमा हङकङमा भएको सरकारविरोधी प्रदर्शनमा सहभागी भएको भन्दै पत्रिकाका मालिक जिम्मी लाईलाई फेब्रुअरी २८, २०२० मा पक्राउ गरिएको थियो । लाई हङकङको प्रजातान्त्रिक आन्दोलनका प्रमुख समर्थकका रुपमा रहेका थिए । तर उनलाई हालै हङकङमा लागू गरिएको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा ७३ वर्षीय लाईलाई १४ महिना जेल सजाय सुनाइएको छ । उनको सम्पत्ति करिब १ अर्ब डलर रहेको पनि बीबीसीले उल्लेख गरेको छ । अहिले उनको सम्पत्ति जफत गरिएको छ । पत्रिकाका अलावा उनको कपडासम्बन्धी व्यवसाय पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिहीबार अन्तिम अंकका रुपमा करिब १० लाख पत्रिका अखबार छापिएको पनि हङकङ फ्री प्रेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एप्पल डेलीका साथै नेक्स्ट म्यागजिन र डिजिटल संस्करण पनि बन्द गरिएको कम्पनीले जनाएको छ । 

Related Post