News Desk
सर्लाही - सर्लाही जिल्लाको बागमती स्थित देशकै दोस्रो ठूलो मानवनिर्मित तालमा जेटबोट संचालनमा आएको छ। पुर्ब पश्चिम राजमार्ग देखि करिव ३ किलोमिटर दक्षिण तर्फ रहेको सो मानवनिर्मित तालमा नेपालमैँ पहिलो ३५ सिटे जेटबोट संचालनमा आएको हो । उक्त ताल हाल भरत तालको नामले प्रसिद्ध रहेको छ । एक कार्यक्रम बीच बागमती नगरपालिकाका मेयर भरत गौतमले रिवन काटेर औपचारिक रुपमै जेट बोटको शुभाराम्भ गरेका छन् ।
यो जेट नेपालका लागि अहिले सम्मकै आधुनिक र सुरक्षित रहेको बाग्मति ईन्टरटेनमेन्ट प्रा.लीका अध्यक्ष गौतम खड्काले जानकारी दिएका छन् । सो मानवनिर्मित भरत तालमा २०७८ साल बैशाख १ गतेदेखि बागमती ईन्टरटेनमेन्ट प्रा.लीद्धारा दुईवटा मोटरबोट संचालन गरिएको र हाल नयाँ बोट थपिएको अध्यक्ष खड्काले बताएका छन् ।
मोटरबोट संचालनमा आए देखि सो ताल पर्यटकीय हवका रुपमा चिनिँदै गएको छ । तालमा प्रदेश नम्बर २ को विभिन्न ठाँउबाट दैनिक हजारौं पर्यटकहरु आउने गरेका छन् । बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापाको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट रहेको छ । सो ताल एक सय २१ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।
ताल निर्माणमा हालसम्म ३७ करोड खर्च भैसकेको र कुल ६० करोड लागत लाग्ने अनुमान गरिएको छ । यस ताललाई केन्द्रिय,प्रदेश र स्थानिय तिनै तहको सरकारको सहकार्यमा निर्माण गरिएको यस तालको काम अबको छ महिना भित्र सकिने मेयर थापाले जानकारी दिएका छन्।