News Desk
सुनसरी-बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीविरुद्ध उजुरी परेको छ । उपकुलपति गिरी वास्तविक प्राध्यापक भए-नभएको पत्ता लगाउन र नपाएको पद आफूखुसी प्रयोग गरेकोमा दोषी ठहरिए कानुनी कारबाही गर्न माग गर्दै शुक्रबार उजुरी परेको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बस्ने पर्यटनकर्मी शशीविक्रम कार्की र संखुवासभाको याखु गाउँपालिका ६ बस्ने आशीष राईले काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालयमा गिरीविरुद्ध शुक्रबार उजुरी दर्ता गरेका छन् । डा। गिरीले भने आफू अमेरिकाको विभिन्न राज्यको नामचिन मेडिकल कलेजको भिजिटिङ प्रोफेसर रहेको बताउँदै आएका छन् ।
उपकुलपति गिरीले प्रयोग गर्दै आएको प्राध्यापक पदबारे पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा र प्रतिष्ठानभित्र चर्चा हुँदै आएको छ । नेपाल मेडिकल काउन्सिलबाट २४८७ दर्ता नम्बर पाएका डा गिरी कोसी अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० पदमा अवकाश पाएपछि विराट मेडिकलमै कार्यरत थिए । त्यहाँ रहँदै उनी तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रतिष्ठानको उपकुपतिमा नियुक्तिका लागि सिफारिस गरेपछि १५ महिनाअघि प्रतिष्ठानमा आउनसाथ उनले आफ्नो नामको अगाडि प्राध्यापक लेख्न थालेका थिए ।
तर प्राध्यापक पद प्राप्त गर्नका लागि कुनै पनि मान्यताप्राप्त विश्वविद्यालयमा कम्तीमा १० देखि १५ वर्ष प्राध्यापन गर्नुपर्छ । प्राध्यापनसँगै वैज्ञानिक शोध पत्रहरु लेखेर अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित गरेको हुनुपर्ने मान्यता छ। कार्डियोलोजी विषयका चिकित्सक गिरीले विश्वविद्यालयमा प्राध्यापन गरेको बारे प्रतिष्ठान र विराटनगरकै समकालीन चिकित्सकहरुलाई समेत जानकारी नभएको भन्ने प्रश्न उठदै आएको छ ।