अध्यागमन कानुन उल्लंघनको मुद्दा खेपिरहेका २५ जना श्रीलंकाबाट स्वदेश फिर्ता
News Desk
Jun-25 , 2021 तारिख 07:25 बेलुका

काठमाडौँ- श्रीलंकाबाट गैरकानुनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेका २५ जना महिलाको  सरकारले उद्धार गरेको छ । अध्यागमन कानुन उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता गरिएको हो । एक जनामा भने कोरोना पुष्टि भएकाले निको भएपछि ल्याइने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराईएको छ । उनीहरुलाई स्वास्थ्य सेवाको सुरक्षित मापदण्ड अनुसार माइती नेपालमा आश्रय दिइएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महिलामन्त्री लीलानाथ श्रेष्ठले भने, ‘खुला सिमानाको कारण मानव बेचविखन भइरहेको छ । पहिलो प्राथमिकता भनेको उद्धार र पुनस्स्थापना नै हो । यो अपराधिक गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गरिनेछ ।’

महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाका अनुसार उनीहरुलाई टिकट तथा व्यवस्थापन खर्च सरकारले बेहोरेको छ । ‘चेतनाको अभाव, गरिबी, रोजगारीको अभाव, देखासिखीका कारण अवैध बाटो भएर महिलाहरु विदेश पुगेर अलपत्र पर्ने गरेका छन्,’ सचिव खतिवडाले भनिन् ।

मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण, बेचविखनमा परेकाहरुको उद्धार पुनस्स्थापना र पारिवारिक पुनर्मिलनको काम गर्दै आएको छ । यसका लागि महिला मन्त्रालयले १० वटा पुनस्स्थापना केन्द्र सञ्चालन गरेको छ । पुनस्स्थापना केन्द्रमा आर्थिक सशक्तिकरणका लागि जिविकोपार्जनका तालिम प्रदान गरिन्छ ।

Related Post