News Desk
केशब ढकाल
न्युवर्क -नेपाली काँग्रेस अन्तर्गतको नेपाली जनसम्पर्क समिती अमेरिकाले ४८ लाख बराबरको नेपाली रकम संकलन गरेर नेपाल पठाएको छ । समितीले कोभिडका कारण उपचार अभावमा मातृभूमिका कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले उक्त नेपाल पठाएको हो । संकलित रकम पार्टीले संचालन गरेको राष्ट्रिय वाणिज्य बैंक, टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा दुई पटक गरी जम्मा गरिएको छ ।
नेपाली कांग्रेस,केन्द्रीय कार्यालयबाट जेठ २ गते पार्टी सभापति शेरबहादुर देउवाको परिपत्र अनुसार नेपाली जनसम्पर्क समिति,अमेरिकाले कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि रकम संकलन अभियान सुरु गरेको थियो । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका नेपाली जनसंपर्क समिती अमेरिकाका सभापति आनन्द विष्टका नाममा जारी विज्ञप्तीमा पार्टीको परिपत्र प्राप्त हुनासाथ नेपाली जनसम्पर्क समिति,अमेरिका केन्द्रीय समितिको बैठक बसी सभापती बिष्टकै संयोजकत्वमा पार्टी निर्देशन सहयोग रकम संकलन गर्ने निर्णय गरिएको जनाईएको छ ।
कोरोना महामारीको यो संकटका बेला समितिका सदस्य एवं शुभेच्छुकहरुले पार्टीको आव्हानमा मन फुकाएर सहयोग गर्नु अत्यन्त महत्वपूर्ण कर्म भएको उल्लेख गर्दै सभापति बिष्टले दाताहरुबाट प्राप्त यस सहयोगले पार्टीको अभियानमा महत्वपूर्ण योगदान पुगेको बताएका छन् । अध्यक्ष बिष्टले पार्टीले आव्हानलाई शिरोपर गर्दै सहयोग गर्नेहरु प्रति धन्यवाद व्यक्त गर्दै भनेका छन् ’बिपतका समय मातृभूमिप्रति देखाएको यस सद्भावको उच्च कदर गर्दै समितिको अनुरोध र पार्टीको परिपत्र अनुसार सहयोग रकम पठाउने सबै सहयोगी दाताहरुप्रति सिंगो पार्टी र नेपाली जनसम्पर्क समिति,अमेरिकाको तर्फबाट कृतज्ञता सहित धन्यवाद ब्यक्त गर्दछौ’ ।
7:49 AM