गीता केशरी, शरच्चन्द्र वस्ती र तिलकप्रसाद लुइँटेललाई सम्मान गरिने
News Desk
Jun-26 , 2021 तारिख 09:39 बिहान

काठमाडौं-शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिले २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानमध्ये प्रशासनिक महिला प्रतिभा सम्मान, स्तम्भकार सम्मान र राष्ट्रझङ्कार सम्मानबाट सम्मान गरिने व्यक्तित्वको नाउँ शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराएको छ ।

त्यसअनुसार प्रशासनिक क्षेत्रमा लागेर पनि कुनै अर्को विधामा महत्त्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मान २०७८ सालका लागि आख्यानकार गीता केशरी (काठमाडौँ) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गरेकी हुन ।

यसै गरी अघिल्लो वर्ष सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित लेखरचनामध्ये पाठकमतबाट उत्कृष्ट ठहरिएका स्तम्भकार वा लेखकलाई समर्पण गरिने स्तम्भकार सम्मान २०७८ सालका लागि नेपाली भाषा–व्याकरणको संरक्षण–संवर्धनमा उल्लेख्य योगदान गरेकामा शरच्चन्द्र वस्ती (सुनसरी) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन पत्रकार हरिगोपाल प्रधानले गरेका हुन ।

कुनै पनि विधाबाट राष्ट्रिय जागरणका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिलाई समर्पण गरिने राष्ट्रझङ्कार सम्मान २०७८ सालका लागि चारै वेदलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गराउनुभएका तिलकप्रसाद लुइँटेल (तेह्रथुम) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन साहित्यकार कृष्णहरि मैनालीले गरेका हुन ।

सम्मान ग्रहण गर्न स्वीकृति प्राप्त भैसकेको शब्दयात्रा प्रकाशनले जनाएको छ । चयन समितिले चयन गरेका व्यक्तित्वहरूलाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्ने गरेको र बाँकी तीनजनाको नाम पनि छिट्टै सार्वजनिक गरिने प्रकाशनले जानकारी दिएको छ ।

 

 

Related Post