सामाजिक सञ्जालमा नकारात्मक सूचना आएकोमा सिम्फोनी पब्लीकेसनको ध्यानाकर्षण
News Desk
Jun-26 , 2021 तारिख 06:05 बिहान

 काठमाडौँ, १२ असार । सिम्फोनी पब्लिकेसन प्रालिले सामाजिक सञ्जालमा नकारात्मक सूचना सम्प्रेषण भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पब्लिकेसनका व्यवस्थापक महेश पाण्डेले शुक्रबार एक विज्ञप्ती जारी गरी विगत केही दिनदेखि सिम्फोनी पब्लिकेसन प्रालिको नाम प्रकाशित गरी विभिन्न सामाजिक सञ्जालमा आएका नकारात्मक सूचनाप्रति ध्यानाकर्षण भएको बताउनुभएको हो । विस २०७१ सालदेखि निरन्तर सञ्चालनमा आएको पब्लिकेसनलाई निजी स्वार्थका लागि बदनाम गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी आएको सो पब्लीकेसनले जनाएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित पहिलो र दोस्रो चरणको कोरोना सङ्क्रमणबाट नेपालको शिक्षा क्षेत्रमा ठूलो चुनौती देखा परेको वर्तमान अवस्थामा पब्लिकेसन क्षेत्रमा समेत चुनौती परेको अवस्थामा भ्रामक सूचना सम्प्रेषण हुनु दुखद भएको बताइएको छ । “कोरोना महामारीकै कारण पुस्तक प्रकाशनमा केही ढिलाइ भइरहेको वर्तमान अवस्थामा केही पुस्तक पसल र विद्यालयले सिम्फोनी प्रकाशनबाट छापिएका पुरानै किताबहरु प्रयोगमा ल्याएको खबरले हामीलाई दुःखित बनाएको छ,”– पब्लीकेसनद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

उक्त प्रकाशनले आफ्नो पब्लीकेशनबाट प्रकाशित पुराना पुस्तकहरु विक्रि वितरण र प्रयोग आगामी दिनमा नगर्न÷नगराउन सम्पूर्ण पुस्तक पसल तथा विद्यालयलाई यसअघि नै आग्रह गरिसकेको र बाँकी भएका पुस्तक फिर्ता पठाउन सूचना पठाइसकिएको बताएको छ । कसैसित त्यस्ता पुस्तक भएमा सिम्फोनी पब्लिकेसनमा फिर्ता पठाइदिनहुन सबैलाई आग्रह समेत गरेको छ । सो पब्लिकेशनले पूर्व प्रकाशित पुस्तक कसैले पढ्न चाहेमा सिम्फोनी पब्लिकेसनले विद्यार्थी तथा शिक्षकको सहजताका लागि ‘डब्लुडब्लुडब्लु डट द क्रियशन डिजाइन डट कम डट एनपी’मा पुस्तकसमेत निशुल्क डाउनलोड गरेर हेर्न र पढ्नसक्ने व्यवस्थासमेत मिलाएको छ ।

सो पब्लिकेसनले आफ्नो प्रकाशनको आधिकारिकता नबुझी हल्लाको भरमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन नगर्न समेत सबैलाई अनुरोध गरेको छ ।