News Desk
काठमाडौं -एमालेमा रहेका पूर्व माओवादीको समायोजनका विषयमा राम बहादुर थापा समूहका नेताहरुबीच अनौपचारिक छलफल भएको छ । नेकपा विभाजनपछि तत्कालीन नेकपाको केपी ओली पक्षमा लागेका नेता कार्यकर्ताहरू नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् तथा प्रदेश कमिटी लगायतका संरचनाका विषयमा छलफल गरेका हुन् ।
उनीहरुको समायोजनका लागि शनिबार पूर्व माओवादी समूहका नेताहरूबीच अनौपचारिक छलफल भएको हो । स्रोतका अनुासर रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी,मणी थापा,प्रभु शाह लगायतका नेताहरुबीच भएको छलफलमा सांगठनिक समायोजनमात्र नभएर बैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठेको हो ।
स्थायी कमिटी सदस्य मणि थापाले भने विभिन्न कमिटीहरुमा समायोजन लगायतका विषयमा छलफल भएको बताएका छन् ।
बादल समूहका नेताहरुले एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी,केन्द्रीय निकाय र विभागहरुमा समायोजनका लागि पूर्व माओवादीबाट एमालेसँग एकीकृत भएका नेता कार्यकर्ताको सूचीमाथि समेत छलफल भइरहेको बताएका छन् । नेकपा विभाजनपछि ओली पक्षले साबिक नेकपाको ४ सय ४१ सदस्यी केन्द्रीय कमिटीमा बढाएर बनाएको १ हजार सदस्यीय केन्द्रीय कमिटीका नयाँ सबै सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने निर्णय भएको छ ।
स्रोतका अनुसार एमालेका विभिन्न विभाग र निकायहरुमा पनि पूर्व माओवादीको समायोजन गर्नका लागि गृहकार्य भइरहेको छ । संगठन विभागले तयार पारेको विवरण अनुसार महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव तयार पारिरहेको स्रोतको भनाई छ ।