काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी सञ्चालन गर्ने बारे छलफल 
News Desk
Jun-28 , 2021 तारिख 05:53 बिहान

 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू   को आइतबार बसेको बैठकले  काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारी सञ्चालन गर्न दिने बारे छलफल गरेका छन् ।  के–कस्ता मापदण्ड लागू गर्ने भन्नेमा भने अझै निर्णय भइसकेको छैन् ।  ‘जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिने कि भन्नेबारे छलफल भएको हो,’काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।, ‘तर कसलाई दिने, कसलाई नदिने भन्नेबारे कुनै निर्णय भइसकेको छैन, सोमबार आदेश जारी भएपछि मात्र यसबारे थाहा हुनेछ ।’ उनले भने । 

यातायात व्यवसायीले भने यसबारे असुन्तष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणालीमार्फत गाडी चलाउँदा यात्रुको चाप बढेर कोरोना संक्रमण झन् फैलिए त्यसको जिम्मेवार आफूहरू नहुने बताए । ‘प्रशासनबाट अहिलेसम्म निर्णय भएर कुनै आधिकारिक जानकारी आएको छैन तर उहाँहरूबीच छलफल भएको थाहा पाएका मात्र हौं,’ उनले भने, ‘निजी गाडीमा जोरबिजोर प्रणाली ठीक होला तर सार्वजनिक सवारीमा यो प्रणाली उपयुक्त हुँदैन ।’

सबैखाले गाडी चल्न दिएर भीडभाड कम गर्नुपर्ने उनको सुझाव छ । ‘वैज्ञानिक ढंगको सुझाव हामीले प्रशासनलाई दिइसकेका छौं, जोरबिजोर नगरौं, सबैखाले गाडी चल्न दिएर भीड कम गरौं भन्ने हो,’ उनले भने ।

Related Post