News Desk
काठमाडौँ - प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदहरूले दायर गरेको रिट निवेदनमाथि संवैधानिक इजलासमा मंगलबारको सुनुवाइ सुरु भएको छ । मुद्दाका विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले बहस सुरु गरेका छन् । पाण्डेयका लागि २ घण्टा बहस समय छुट्याइएको छ ।
पाण्डेपछि नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले २० मिनेट, नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरले २० मिनेट सरकारको कदमको प्रतिरक्षामा बहस गर्ने बताइएको छ । मंगलबार विपक्षीका तर्फबाट ११ जनाले बहस गर्ने तयारी गरेका छन् ।प्रतिनिधिसभा विघटन मुद्दामा सोमबारबाट सरकारी पक्षले बहस सुरु गरेको हो । महान्यायाधिवक्ता रमेश बडालले साढे ३ घण्टाभन्दा बढी समय बहस गरेका थिए ।
प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन मिति तोकेकी थिइन् । उक्त निर्णय बदर र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्तिको परमादेश माग गर्दै १ सय ४६ सांसद सर्वोच्च अदालत आएका थिए । देउवाको निवेदनमाथि असार ९ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।