News Desk
काठमाडौँ — असार १८, २०७८।
नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । ११ बजे बस्ने भनिएको बैठक सवा घण्टा ढिला गरेर सुरु भएको थियो । जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।
तर, बैठकअघि खनाल–नेपाल समूहका नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
‘हिजो हाम्रो समूहले जे निर्णय गरेको त्यसले एकतालाई प्राथमिकता दिने भनेको छ । एकताको लागि हामीले सकारात्मक ढंगले प्रयत्न गरिराखेको छौं लगभग निष्कर्षनजिक पुगेका छौं । यस्तो अवस्थामा आज एकपक्षिय बैठक राख्ने कुराले माहोल बिग्रन्छ । बैठक स्थगन गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ बालुवाटार पुगेका एक नेताले भने, ‘कार्यदलको औपचारिक वार्ता गरेर एकाध दिनमा निर्णयमा पुग्ने र माधव नेपालसहित सहमति गरेर पार्टी एकढिक्का बनाउँ भन्ने प्रस्ताव पनि राख्यौं । उहाँले हाम्रा कुरा सुन्नु भयो र साथीहरुसँग सल्लाह गर्छु भन्नु भएको छ ।’ उक्त भेटमा महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि सहभागी रहेको ती नेताले बताए । तर, नेपाल पक्षले स्थगित गर्न आग्रह गरे पनि बैठक जारी छ ।
संस्थापन पक्षले बुधबार दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

वामदेव गौतम सहभागी
बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी छन् । अध्यक्ष केपी शर्मा ओली ०७५ जेठ ३ को अवस्थाबाट पार्टी सञ्चालन गर्न तयार भएपछि गौतम बैठकमा सहभागी भएको उनको सचिवालयले बताएको छ ।
पार्टी उपाध्यक्षको हैसियतमा बैठकमा सहभागिता जनाउन भन्दै केन्द्रीय कार्यालयले पत्र पठाएको थियो । गौतम यसअघिका बैठकमा सहभागी भएका थिएनन् । सर्वोच्च अदालतले नेकपालाई विभाजन गरिदिएपछि गौतमले छुट्टै एकता अभियान सञ्चालन गर्दै आएका थिए ।
ओली र नेपालबीच टेलिफोन संवाद
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार साँझ टेलिफोन संवाद भएको छ । नेपालको सचिवालयका अनुसार संवादमा ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह गरेका थिए ।
तर, नेपालले उक्त बैठक अवैधानिक भन्दै स्थगित गर्न र आपसी सहमतिमा अर्को बैठक तय हुनुपर्ने बताएका थिए । दुवै पक्षका दोस्रो तहका नेताहरुले ओली र नेपाललाई भेटवार्ता गराउने कोसिस पनि गरेका छन् । यद्यपि अझै समय भने तय नभएको नेताहरुले बताएका छन् ।
(कान्तिपुर दैनिक)