त्रिशूली–बी १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन उद्घाटन
News Desk
Jul-04 , 2021 तारिख 11:27 बिहान

काठमाडौं — असार २०, २०७८।

त्रिशूली–बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको शनिवार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल उद्घाटन गर्दै उनले विद्युत्को घरेलु माग आफ्नै उत्पादनबाट धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताए ।

सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्को प्रसारण र त्यसको खपतलाई सन्तुलित ढंगले अघि बढाएको समेत ओलीले बताए । ‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने, लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सबलाइन नहुने जस्ता कमजोरी थिए । अब त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौं’, उनले भने।

नेपालले करीब ११० वर्षअघि ऊर्जा उत्पादन शुरू गर्दै दक्षिण एशियामै दोस्रो जलविद्युत् उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानन्त्रीले उल्लेख गरे । पछिल्लो समय कुलेखानी जलविद्युत् आयोजनाले देखाएको बाटो अनुरूप हालका वर्षहरूमा जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि उनको भनाई छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ।