News Desk
काठमाडौं — असार २०, २०७८।
नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङदी नदीको पुल भासिएको छ। लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो। पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ।
यही असार महिनाको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।
उनले भने अनुसार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लामा वितण्डा नै मच्चायो, जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो। यहाँ सवारी आवगमन हुदैँन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ। अहिले मर्स्याङदीको बाढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झोलुङ्गे पुल भासिएपछि समस्या उत्पन्न भएको छ।
बाढीपहिरोका कारण नार्पाभूमिका चार पुल मध्ये तीन बाढीले बगाइसकेको छ। नार्पा जोड्ने मुख्य पुल पनि अहिले भासिएर हिड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन्। यहाँका सबै बाटोघाटो र पुलहरु भासिनुका साथै बगाएपछि अहिले खाद्यान्न ढुवानी गर्न समेत रोक लगाइएको छ। नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मर फुन्चो लामाले उक्त स्थानमा खाद्यान्न ढुवानी गर्दा दुर्घटनाको सम्भावना रहेकाले आवगमनमा रोक लगाइएको जानकारी दिए। यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन्।
जिल्लामा बाढीले करोडौँको भौतिक क्षति पुर्याएको जनाइएको छ। मर्स्याङदी नदी लगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ। नासोँ , चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ। आजको नागरिक दैनिकमा खबर छ।