सप्तकोसीमा पानीको बहाव घटबढ
News Desk
Jul-04 , 2021 तारिख 06:13 बिहान

ईटहरी — असार २०, २०७८।

सप्तकोसी छेउछाउका बासिन्दालाई सालिन्दा वर्षा लागेर पानी पर्नासाथ गास, बास र कपासको भन्दा आफ्नो सुरक्षाले बढी पिरोल्छ। सप्तकोशी नदीमा पानीको बहाव घटबढ भइरहेपनि अहिलेसम्म तटीय क्षेत्रमा कुनै खतरा नभएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

शनिबार मध्यान्ह १२ बजेको मापनअनुसार पानीको बहाव दुई लाख ३० हजार ९५ प्रतिसेकेन्ड क्यूसेक पुगेकोमा ४ बजे एक लाख ८८ हजार नौ सय ५५ मा झरेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये २७ वटा खुल्ला गरिएको छ।

कोशी ब्यारेजमा अहिले पश्चिम र पूर्वतर्फ खतराको संकेत रातो बत्ती बालिएको छ। तर, तटीय क्षेत्रमा भने कुनै समस्या नभएको कोही आतिनुपर्ने अवस्था नभएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले बताए।


कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख काट्ने बित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। सन् १९६८ मा ७ लाख ८८ हजार क्यूसेकसम्मको भार थामेको थियो। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको वहाव चार लाखभन्दा मुनी नै रहेकाले गर्दा कुनै अनुमान लगाउन सक्ने अवस्था छैन। 

धेरै पढिएको