उपत्यकामा जोरबिजोर हट्यो, निषेधाज्ञा थप
News Desk
Jul-05 , 2021 तारिख 06:13 बिहान

काठमाडौँ — असार २१, २०७८। 

उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा कायम गरिएको जोरबिजोर प्रणाली हटाइएको छ । कोरोना संक्रमणको दोस्रो चरण सुरुभएपछि १६ वैशाखबाट काठमाडौं उपत्यकाकामा जारी गरिएको निषेधाज्ञालाई एक साता थप गर्दै दुई साताअघि निजी र एक साताअघि सार्वजनिक सवारीमा लगाइएको निषेधाज्ञा भने हटाइएको हो ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गर्दै जोरबिजोर प्रणाली भने हटाएको हो । काठमाडौं, भक्तपुर र ललितपुरमा ७ असारदेखि निजी र १५ असारबाट सार्वजनिक सवारीमा जोरबिजोर लागू गरिएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप गरिएको तर निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने हटाइएको जानकारी दिए । तर, ती सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न पाइनेछ । यो नियम २२ असारबाट लागू हुनेछ । यो निर्णयसँगै माइक्रोबस र टेम्पो पनि चल्न पाउनेछन् ।

यसैगरी सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने ढोकामा सेनिटाइजर राख्नुपर्ने छ । यस्तै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ भने चालक र सहचाकलले मास्कसहित भाइजर र पन्जा पनि लगाउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी आदेशमा उल्लेख छ ।

यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा सिटमा चार चार जना र चालक छेउमा एक जना यात्रु राख्न पाइनेछ । तर, सवारी साधनले दुईतर्फ सिटको बीच भागमा प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

धेरै पढिएको