सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप आइपुग्यो
News Desk
Jul-09 , 2021 तारिख 05:08 बिहान

काठमाडौँ — असार २५, २०७८। 

सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शुक्रबार बिहान ६:१६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । पहिलो खेपमा ८ लाख डोज खोप ल्याइएको छ  ।

चालक दलका १२ सदस्यसहित बिहीबार साँझ निगमको जहाज बेइजिङ उडेको थियो ।

यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । उक्त कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको छ । खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघण्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ ।

निगमको वाइडबडी विमान अब असार ३१ र साउन ७ मा बाँकी खोप ल्याउन बेइजिङ जाने तालिका छ । चीन जानुअघि निगमको वाइडबडीले बिहीबार बिहान इजरायलबाट करिब १८ टन स्वास्थ्य सामग्री चार्टर गरेर काठमाडौं ल्याएको थियो ।

चीनबाट खरिद गरी ल्याइएको खोप ५५ देखि ६२ वर्ष उमेर समूहका नागरिकलाई लगाउने सरकारको तयारी छ । यसअघि ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई भारतबाट आएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप काठमाडौं उपत्यकामा ६० वर्षमाथिका र बाहिरी जिल्लामा ६२ भन्दामाथिका नागरिकलाई लगाइसकिएको छ । हिमाली जिल्ला र काठमाडौं उपत्यकामा १८ वर्षमाथिका केहीले पनि खोप लगाएका छन् ।

५५ वर्षमाथिका ३७ लाखमध्ये करिब १७ लाखलाई खोप लगाइसकेको विभागले जनाएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको