News Desk
रियो दी जेनेरियो — असार २८, २०७८। एएफपी
बार्सिलोनाको पहिलो रोजाइमा नियमित स्थान बनाइसकेका लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा १८ वर्षको छँदै सन् २००५ मा शक्तिशाली अर्जेन्टिनी टिममा डेब्यु गरेका थिए । त्यसको १६ वर्षपछि नसोचिएको पारामा उनले अन्ततः देशका लागि उपाधि जितेका छन् ।
तर, छपल्टका बालोन डी’अर विजेता मेसी चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई रियो दी जेनेरियोस्थित आइकोनिक माराकाना रंगशालामा कोपा अमेरिकाको फाइनलमा शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) १–० ले पराजित गर्नुअघि चारपल्टको फाइनलसहित धेरैपल्ट निराश हुनुपर्यो । उनले आफ्नो लोभलाग्दो करिअरमा बार्सिलोनाका लागि चारपल्ट च्याम्पियन्स लिग, १० पल्ट ला लिगा, सातपल्ट कोपा डेल रेको उपाधि उचाले पनि धेरैपल्ट अन्तर्राष्ट्रिय खेलमा भने असफलता बेहोरिरहेका थिए ।
सत्य के भने उनी प्रतियोगिताको फाइनलमा टिमका लागि प्रेरणादायक थिएनन् । उनी ब्राजिलको सामना गर्दा खेल सकिन दुई मिनेटअघि गोलकिपर एडरसनविरुद्धको अवसरमा पनि चुके । तर, सहकर्मीहरूले खेल सकिएको सिठी बजाएपछि उनलाई हावामा उचाल्दै अर्जेन्टिनी टिममा कति महत्त्वपूर्ण र सम्मानित छन् भन्ने देखाइदिए । अर्जेन्टिनाको उपाधि जितमा एकमात्र गोल एन्जल डी मारियाले २२ औं मिनेटमा गरेका थिए ।

‘यो मेरो सपना थियो । यो नै मैले विश्वमा सबैभन्दा बढी चाहेको थिएँ,’ अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले उपाधि जितेपछि भने, ‘हामीले मेसीलाई यो दियौं, जो यसका लागि सबैभन्दा योग्य थिए ।’यसअघि तीनपल्ट सन् २००७, २०१५ र २०१६ मा अर्जेन्टिनी टिम कोपा अमेरिकाको फाइनलमा हारेको थियो भने माराकानामै २०१४ मा भएको विश्वकप फाइनलमा जर्मनीको हातबाट १–० ले पराजित भएको थियो । मेसीका लागि यसपालि इतिहास दोहोरिएन । उनले टिमलाई प्रेरितमात्रै गरेनन्, प्रतियोगिताकै सर्वाधिक गोलकर्ता र सर्वाधिक एसिस्ट (गोलका लागि अन्तिम पास) पनि गरे ।
उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भए । उनले अर्जेन्टिनाका लागि सर्वाधिक १४७ खेल खेलेका जाभियर मास्केरानोको कीर्तिमान पछाडि पार्दै शनिबार १५१ खेल पुर्याए । प्रतियोगिताको चार गोलसँगै उनले देशका लागि आफ्नो गोलसंख्या ७६ पनि बनाए । यो गोलसंख्या दक्षिण अमेरिकाकै कीर्तिमानी पेलेको गोलभन्दा एक गोल थोरै हो ।
यो प्रतियोगिता जित्नु भनेको अर्जेन्टिनाका लागि दुई वर्षअघिको सेमिफाइनलमा ब्राजिलविरुद्धको हारको बदला पनि हो । यसअघि अर्जेन्टिनाले उपाधि नजितेको २८ वर्ष भइसकेको थियो । उसले ब्राजिली भूमिमा १९९८ को मैत्रीपूर्ण खेलयता जितेको पनि थिएन । घरेलु टिमले २,५५३ दिनयता हार बेहोरेको पनि थिएन ।
नेयमरले चोटका कारण दुई वर्षअघि ब्राजिलले जितेको उपाधि अनुभव गर्न पाएको थिएन । उनी पनि पहिलो मुख्य उपाधिको खोजीमै छन् । यो क्रम कायमै रह्यो तर उनी २९ वर्षमा पनि छपल्ट कोपा खेलेका मेसीभन्दा ५ वर्ष कान्छो छन् । क्लबमा जस्तै सफलता देशका लागि दिलाउन नसके पनि मेसीले अर्जेन्टिनालाई उदाहरणीय रूपमा नेतृत्व दिन कहिल्यै रोकेनन् । यो प्रतियोगिताको सेमिफाइनलमा कोलम्बियाविरुद्ध जित हात पारेको खेलमा मेसीको एङ्कलबाट रगत नै बगेको थियो । र, उनी पसिना चुहाउँदै उपाधिसम्म पुगे ।
अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले पनि हल्का ह्यामस्ट्रिङ भए पनि मेसीले फाइनल खेलेको रहस्य खोले । ‘यदि अर्जेन्टिनीहरूले हामीलाई (खेलाडीहरू र टिमका अरू सदस्यहरू) जस्तै थाह भयो भने उनीहरूले अझै बढी मन पराउन थाल्नेछन्,’ स्कालोनीले भने । गोल र एसिस्टलाई छाड्ने हो भने पनि मेसी लगभग अर्जेन्टिनाको हरेक आक्रामक मुभको उत्पादनमा केन्द्रमै थिए । थोरै आश्चर्यको रूपमा स्कोलानीले मेसीलाई ‘सर्वकालीन महान्’ भने ।
मेसीले बेइजिङ २००८ मा अर्जेन्टिनी यू–२३ टिमसँग ओलम्पिक स्वर्ण पदक जितेका थिए । त्यसको तीन वर्षअघि उनले देशका लागि यू–२० विश्वकप पनि जितेका थिए । अन्ततः उनले लामो समयदेखि प्रतीक्षा गरिरहेको सिनियरतर्फको उपाधि पनि जितेका छन् । यही लयमा उनको नेतृत्वमा अर्जेन्टिनाले अर्को वर्ष कतारमा हुने विश्वकपमा पनि सफलता पाउन सक्छ ।
(कान्तिपुर दैनिक)