तिनिधिसभा पुन:स्थापना हुनु जनताको जित: सभामुख
News Desk
Jul-13 , 2021 तारिख 07:20 बिहान

काठमाडौँ -प्रतिनिधिसभा पुन:स्थापना हुनुले जनताको जित भएको  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिक्रिया दिएका छन् ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेसँगै  सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद् पुन:स्थापना गर्ने फैसलाले जनताको जित भएको प्रतिक्रिया दिएका हुन् । उनले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए । सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उनको भनाइ थियो ।

सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उनले बताए । ‘आज जुन फैसला भएको छ, यो फैसलाले समग्रमा भन्नुपर्दा नेपाली जनताको जित भएको छ । लोकतन्त्रको जित भएको छ । संविधानलाई रक्षा भएको छ । र यस अर्थमा यो ऐतिहासिक फैसला भएको छ भन्ने मलाई लागेको छ । यो ऐतिहासिक अबसरमा सबभन्दा पहिला म यो ऐतिहासिक फैसला गर्ने सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधीश लगायत सम्पूर्ण संवैधानिक इजलासका न्यायाधीशज्यूहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यसका साथसाथै यो संसद् पुन:स्थापनाका लागि र यो फैसला गराउनका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिन चाहन्छु । यो बहुआयामिक महत्वको छ । हाम्रो संविधान लोकतान्त्रिक मूल्य, मान्यताका सबै आयामहरुलाई हामीले समेटेका छौं । यसका साथसाथै नयाँ केही मौलिक प्रावधानहरु पनि हामीले राखेका छौं । त्यस अर्थमा हाम्रो संविधान जति प्रष्ट छ त्यही प्रष्टताका साथ आज सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ । यो फैसलाले अहिलेको गाँठो त फुकाएको छ छ, अहिलेको राजनीतिक निकास पनि दिएको छ ।’

सभामुख सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरुलाई विगतको समीक्षा गर्दै संसद्लाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृङ्खलाबद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर राजनीतिक व्यवस्थामाथि नै धक्का दिन खोजिएको भन्दै उनले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताए । उनले भने, ‘हामी सबै बढी चिन्तित नै थियौं । किनभनेदेखि प्रतिनिधिसभा विघटन मात्रै भएको होइन, यसको साथसाथै यसले व्यवस्थामाथि नै अलिकति धक्का दिन लागिरहेको थियो । र राष्ट्रिय हितमा पनि धक्का लाग्ने खतरा पैदा भइरहेको थियो । यो फैसलाले यी सबै खतराहरुको अन्त्य गरेर नयाँ अध्याय सुरुवात गरेको छ । यस अर्थमा म फेरि पनि समस्त नेपाली जनता र यो प्रक्रियामा लाग्ने सबैलाई हार्दिक बधाई दिन चाहन्छु ।’

 

Related Post