इटालीको अद्वितीय यात्रा
इंग्ल्यान्डलाई फाइनल पुग्न जति सजिलो थियो, इटालीलाई उत्तिकै गाह्रो
News Desk
Jul-13 , 2021 तारिख 01:16 बेलुका

लन्डन — असार २९, २०७८। एएफपी

इटालीले फेरि एकपल्ट इंग्ल्यान्डलाई टाइब्रेकरमा हारको पीडा दियो । युरो २०२० को फाइनल पेनाल्टी सुटआउटमा पुगेको थियो । यसमा विजयी टिम रह्यो इटाली । स्कोर रह्यो ३–२ । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा थियो । इंग्ल्यान्डका लागि बुकायो साका निर्णायक पेनाल्टी प्रहारमा चुके । 

इटालीका गोलरक्षक जियानलुइजी डोनारुमाले साकाको प्रहार के बचाए, इटाली दोस्रोपल्ट युरोपेली विजेता बन्न सफल रह्यो । इटालीको यो यात्रा आफैंमा अद्वितीय रह्यो । आखिरमा इटाली त्यही टिम थियो, जसले सन् २०१८ को अन्तिम चरणमा छनोट हुन असफल रहेको थियो । तर अहिले यही टिम युरोपेली च्याम्पियन भएको छ ।

यसपल्टको पेनाल्टी सुटआउट पनि कम्ती नाटकीय रहेन । इंग्ल्यान्डले सुरुआती दुई प्रहारमा गोल गरेको थियो, तर त्यसपछि मार्कस रसफोर्ड र जाडोन सान्चो दुवै गोल गर्न असफल रहे । इंग्लिस गोलरक्षक जोर्डन फिकफोर्डले जोर्गिन्होको प्रहार पनि गोल हुन दिएनन् । जतिबेला खेल टाइब्रेकरमा पुग्ने गर्छ, अधिकांश समय भाग्यले इंग्ल्यान्डलाई साथ दिन्न ।

फेरि एकपल्ट यस्तै भएको छ । यसअघि लुक शको गोलमा इंग्ल्यान्डले ४७ मिनेटमै अग्रता लिएको थियो । इंग्ल्यान्ड सन् १९६६ यता पहिलोपल्ट कुनै ठूलो प्रतियोगिताको फाइनल खेलिरहेको थियो । उपाधिका लागि निकै व्यग्र थियो । तर खेल त इटालीले नै राम्रो खेलेको थियो, त्यसैले लियोनार्डो बोनुचीको गोलको माध्यमले टिम खेलमा फर्कन सफल रह्यो ।

दोस्रो ठूलो उपाधिका लागि इंग्ल्यान्डको ५५ वर्षको प्रतीक्षा अझ लम्बिएको छ । इटाली भने आफ्नो यस्तै घाउमा औषधी छर्कन सफल भएको छ । इटाली त्यही टिम हो, जसले चारपल्ट विश्वकप जितेको छ । तर यही समयमा इटालीले दुईपल्ट युरोको फाइनल गुमाएको छ । अहिले यो क्रम भने टुंगिएको छ ।

फेरि इटाली उपाधिका लागि शतप्रतिशत हकदार देखियो । टोलीले फाइनल प्रवेशका क्रममा बेल्जियम र स्पेनलाई हराएको थियो । यो पनि आफैमा ठूलो उपलब्धि थियो । इंग्ल्यान्डलाई जति फाइनल पुग्न सजिलो थियो, इटालीलाई उत्तिकै गाह्रो थियो । फेरि फुटबलमा जित्ने टिम यस्तै हुन्छ, किनभने बहादुरलाई मात्र भाग्यले साथ दिन्छ ।

(कान्तिपुर दैनिक)