News Desk
ललितपुर- क्यान्सर जितेर सामान्य जीवनमा फर्केकाहरुले कोरोना अवधिमा भएका आफ्ना तिता मिठा अनुभव भर्चुअल माध्यमबाट साटासाट गरेका छन् । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, नेपाल क्यान्सर सहयोग समूह र उपचारका लागि सहयोगी हातहरुद्वारा संयुक्तरुपमा आयोजित क्यान्सर विजेताहरुको २३ औं बैठकमा क्यान्सर जितेकाहरुले आफ्ना अनुभव साथीहरुमाझ साटासाट गरेका हुन् । कार्यक्रम माझ ‘सौंन्दर्य र बहादुरी’ विषयमा अनुभव साटसाट गरिएको थियो । अनुभव साटासाट गर्ने क्रममा सहभागीहरुले दोस्रो चरणको कोरोनाको महामारी अवधिमा आफुहरुलाई केही अप्ठेरो भएतापनि जटिल रोग क्यान्सरलाई जितिसकेको हुनाले कोरोनालाई पनि परास्त गर्न सकेको बताए ।
समयमै क्यान्सरको उपचार गरे सहजै यस रोगबाट पार पाउन सकिने बताउँदै उनीहरुले नेपालमै सबैप्रकारको क्यान्सर रोगको उपचार हुने गरेकोमा खुसी समेत व्यक्त गरे । क्यान्सर विजेताहरुलाई गोलवद्ध गर्दै आएकी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठले कोरोना महामारीको अवधिमा क्यान्सर विजेताहरुको अनुभव साटासाट गर्न २३ औं वैठक भर्चुअल माध्यमबाट आयोजना गरिएको बताइन् ।
त्यस अवसरमा स्तन क्यान्सर विजेताद्वय मिना तुलाधर र रेजिना मुल्मीले स्तन क्यान्सरका कारण स्तन काटेर फ्याक्नुपर्दाको क्षण बारे वर्णन गर्दै आफ्नो शरीरको सौन्दयर्तालाई कायम राख्न घरमै कृतिम स्तनसहितको ब्रा बनाउन सिकाईएको बारेमा बोलेका थिए ।यसैगरि लोकेश्वरी श्रेष्ठ, मिना नेम्कुल, आशा श्रेष्ठ, सुस्मा मर्हजन, सुशान्त लिम्बुलगायतले क्यान्सर र कोरोनाबारेका आफ्ना अनुभव सुनाएका थिए ।
शरीरको विभिन्न अंगमा लागेको क्यान्सरको उपचार पछि दोस्रो जीवन पाएका उनीहरुले आत्मबल बलियो बनाउन सकेमा क्यान्सरमात्र नभई जस्तोसुकै जटिल रोगलाई जित्न सकिने बताए ।
नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष गणेशभक्त श्रेष्ठ, महासचिव शशांक शर्मा, नेपाल क्यान्सर अस्पतालका आइटि विभाग प्रमुख, इन्जिनियर दिपक यात्री लगायतले कार्यक्रममा सहजीकरण गरेका थिए ।