साझा कार्यक्रम बनाइने
News Desk
Jul-21 , 2021 तारिख 06:56 बिहान

काठमाडौँ —  श्रावण ६, २०७८। 

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार गठन तथा सञ्चालन र साझा कार्यक्रमका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार पाँच दलीय गठबन्धनको ‘म्यान्डेट’, मन्त्रिपरिषद् विस्तार, सरकारका साझा कार्यसूचीका विषयमा छलफल भएको छ ।

सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दल सरकारमा सहभागिताका विषयमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको छ । नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल जारी रहेको बताए ।

प्रधानमन्त्री देउवालाई भेट्नुअघि अध्यक्ष प्रचण्डले कोटेश्वरस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँंग छलफल गरेका थिए। आजको गोरखापत्र दैनिकमा खबर छ।  
 

धेरै पढिएको