खनालको उपचार खर्च ब्यहोर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेता थापाको विरोध
News Desk
Jul-21 , 2021 तारिख 09:03 बिहान

काठमाडौँ —  श्रावण ६, २०७८। 

दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको कांग्रेसकै नेता गगन थापाले विरोध गरेका छन ।

पूर्वस्वास्थ्य मन्त्री रहिसकेका कांग्रेस केन्द्रीय सदस्य थापाले जनस्वास्थ्य ऐनअनुसार विदेशमा उपचार गराइरहेका व्यक्तिलाई सरकारले उपचार खर्च ब्यहोर्न नमिल्ने बताएका हुन । नेता थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताउएका छन ।

मंगलबार प्रधानमन्त्री देउवाले खनाललाई फोन गरेर उपचार खर्च सरकारले ब्यहोर्ने बतएका थिए । नेता थापाले बुधबार सामाजिक सञ्जाल मार्फत उक्त खर्च बेहोर्न नमिल्ने बताएका हुन । २०७४ सालमा बनेको जनस्वास्थ्य ऐन अनुसार उपचार खर्च बेहोर्न नमिल्ने थापाले बताए ।

उक्त कानुन २०७५ असोज २ गतेदेखि लागू भइसकेकाले खर्च बेहोर्न कानूनले नदिने उल्लेख गरे । उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसका लागि देश विदेशमा रहेका सबै नेपाली हरदम तयार भएको थापाले बताए ।

खनालको विदेशमा गरेको उपचारको खर्च सरकारले ब्यहोर्ने भन्ने विषय उठाएर उनको विषयमा अनावश्यक टिकाटिप्पणी गर्ने वातावरण बनाइएको भन्दै थापाले असन्तुष्टि व्यक्त गरे । साथै थापाले यस्ता विषय उजागर गरेर परिवारलाई दुःखी नबनाउन समेत सबैलार्ई आग्रह गरेका छन ।