News Desk
काठमाडौँ -संसद् पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीच भनाभन भएको छ । बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संसद् पुनर्जीवित भएको भन्दै खुसी व्यक्त गदर्दै संघर्षबाट संसद् पुनःस्थापना भएको बताएका थिए ।नेता नेपाललगायत बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष ओलीपक्षका सांसद नारदमुनि राना प्रवेश गरे । उनले आफ्नो बोल्ने पालो आएपछि नेता नेपालप्रति कटाक्ष गर्न थाले ।उनले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको बताए । उनले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गरे ।
उनी भन्दै गए,'आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने रु यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ ।'सांसद रानाले नेता नेपालसहितका सांसदप्रति कटाक्ष गर्दै आफ्ना भनाइलाई निरन्तरता दिएपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भए । त्यसपछि नेता नेपाल पनि बोल्न थाले ।
आक्रोशित हुँदै नेता नेपाल र सांसद भट्टले 'प्रतिगमनका मतियारहरू बाहिर जानुस्' भने । प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिए । रानाले अनावश्यक कुरा गरेको भन्दै एमालेको नेपाल पक्षका सांसदले असन्तुष्टि जनाए ।