'सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस्':माधवकुमार नेपाल
News Desk
Aug-03 , 2021 तारिख 06:07 बिहान

 

काठमाडौँ -नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । छलफलमा वरिष्ठ नेता नेपालले एकता नै आफूहरूको चाहना रहेको बताए । सोमबार वरिष्ठ नेता नेपालसहित नेकपा ९एमाले०का स्थायी कमिटी सदस्यहरुबीच पार्टी एकताका लागि भइरहेका प्रयासहरुबारे छलफल गर्ने क्रममा सो धारणा राखेका हुन् । 


सम्बोधनमा नेता नेपालले भनेका थिए, 'कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।'


छलफलमा एकता प्रयास कसरी अघि बढिरहेको छ भन्नेबारे कार्यदलमा रहेका सदस्यहरु र वार्ता प्रक्रियामा सहभागी सदस्यहरुले जानकारी गराएका थिए ।

छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रक्रियामा आँच नपुगोस् भन्नेतर्फ सबैले ध्यान दिनुपर्ने राय व्यक्त गरेका थिए । पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्‍याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा पनि स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए ।

बैठकमा वरिष्ठ नेता नेपालसहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो ।