News Desk
रुकुम पश्चिम — २४ श्रावण २०७८
रुकुम पश्चिम, चौरजहारी अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिकाको १ करोड १० लाख रुपैयाँमा चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेको थियो ।उक्त प्लान्टले अक्सिजन उत्पादनसमेत गर्न थालिसकेको छ । प्लान्टले दैनिक ४० लिटर क्षमताका ३२ देखि ३६ वटा सिलिन्डर भर्न सक्ने अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए । चौरजहारी नगरपालिकाको पूर्ण लगानीमा अक्सिजन प्लान्ट स्थापना भएको उनको भनाइ छ ।
चौरजहारी नगरपालिकाले गत आर्थिक वर्षमै अक्सिजन प्लान्ट खरिद प्रक्रिया अघि बढाएको थियो । नगर प्रमुख विशाल शर्माका अनुसार अरू समयमा पनि अक्सिजन आवश्यक भइरहने र कोरोनाको कारणले पनि अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्लामै अक्सिजन उत्पादन सुरु भएपछि अक्सिजन अभावले हुने जोखिम घट्ने स्वास्थ्यकर्मीको भनाइ छ । निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले अक्सिजन खोज्दै टाढा जानुपर्ने अवस्था अन्त्य भएको बताए ।
(कान्तिपुर दैनिक)