चितवन निकुञ्जमा फेरि गैंडा सिकारी
News Desk
Aug-08 , 2021 तारिख 02:44 बेलुका

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा साउन ८ यता चारवटा गैंडा मृत भेटिएका छन् । चारमध्ये एउटा गैंडाको हाडखोर मात्रै थियो । निकुञ्जभित्रै कुहिएको अस्थामा अर्को गैंडा पनि फेला परेको छ । उक्त  गैंडा तस्करहरूले मारेर खाग लगेको हुन सक्ने निकुञ्जका अधिकारीको भनाइ छ । यहीबीचमा कालगतिले मरेका अन्य दुई गैंडा पनि भेटिएका थिए ।चितवन निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार साउन ११ गते सोमबार निकुञ्जको माडी क्षेत्रनजिक घाँगर पोस्टको टुनामुना खोलामा एउटा मरेको गैंडाको कुहिएको शरीर भेटिएको थियो । त्यो गैंडा तस्करहरूले मारेर खाग लगेको निकुञ्जको आशंका छ । ‘गैंडाको पोस्टमार्टममा संलग्न चिकित्सकहरूको प्रारम्भिक अनुमान त्यही छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ।गैंडाको खाग नभेटिएकाले मात्रै होइन, अन्य शारीरिक अवस्थाले पनि त्यस्तो आशंका बढेको बरालले बताए । ‘खाग काटेको जस्तो देखिन्छ । खप्परमा प्वाल पनि छ । त्यसैले मारेर खाग लगेको हो कि भन्ने आधार देखिएको छ,’ उनले भने । झन्डै अढाई महिनाअघि उक्त गैंडा मरेको हुन सक्ने उनले बताए ।

त्यसअघि साउन ८ गते घाँगर क्षेत्रकै हरिनगरमा एउटा पोथी गैंडा मृत फेला परेको थियो । खागखुर सुरक्षित रहेकाले उक्त गैंडा बूढो भएर प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । त्यसपछि साउन २० मा चितवन निकुञ्जको पश्चिम क्षेत्र नवलपुरको कावासोती नगरपालिका–७ मा पर्ने नमुना मध्यवर्ती सामुदायिक वनमा पनि अर्को एउटा पोथी गैंडा मृत फेला पर्‍यो । उक्त गैंडाको पनि खागखुर सुरक्षित रहेकाले बूढो भएर मरेको हुन सक्ने निकुञ्जका अधिकारीहरू बताउँछन् । यही बीचमा निकुञ्जको पूर्वी क्षेत्र अमृतेमा गैंडाको हाडखोर फेला परेको थियो । निकुञ्ज सम्बद्ध अधिकारीहरूका अनुसार उक्त गैंडाको पनि खाग थिएन । प्रमुख संरक्षण अधिकृत अणनाथ बराल त्यो गैंडा एक–डेढ वर्षअघि मरेको हुन सक्ने बताउँछन् ।

‘अमृतेमा एक–डेढ वर्षअघि एउटा गैंडा मरेको थियो । बाहिर गैंडा मरेमा हामीले खाग झिकेर, शरीर खाल्डो खनेर पुर्ने गर्दछौं । निकुञ्जभित्र भएको घटनामा खाग झिकेपछि शरीर त्यसै छाड्छौं । पहिला गैंडा मरेको ठाउँभन्दा पाँच सात सय मिटर पर अहिले कंकाल भेटिएको हो,’ उनले भने । त्यो नयाँ नभएर पुरानै गैंडाको शरीर स्यालजस्ता जनावरले तानेर त्यहाँ लगेको उनको अनुमान छ ।चितवन निकुञ्जमा साउन लागेपछि यीभन्दा अघि नै तीनवटा गैंडा मृत भेटिएका थिए । साउन ४ मा एकै दिन बूढो भएर मरेको एउटा ३० वर्षको भाले गैंडा र अर्को बाघले आक्रमण गरेको केटो (बच्चा गैंडा) मृत फेला परेका थिए । त्यसपछि साउन ७ मा निकुञ्जको दुधौरा क्षेत्रमा जुधेर घाइते भएको एउटा भाले गैंडा मरेको थियो ।

अमृतेमा भेटिएको कंकाललाई गणना नगर्ने हो भने साउनयता चितवन निकुञ्जमा ६ वटा गैंडा मरेका छन् । अघिल्लो आर्थिक वर्षमा चितवन निकुञ्जमा ३२ वटा गैंडा मरेका थिए । तीमध्ये चारवटालाई तस्करहरूले मारेका थिए । चितवन निकुञ्जमा पाइने ठूलो एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । गैंडा मारेर यसको अंगको कारोबार गरे १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुन्छ ।गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि तस्करहरूले गैंडा मार्ने गर्छन् । पछिल्लो पटक चैतमा भएको गणनाअनुसार नेपालमा गैंडाको संख्या ७५२ छ । जसमध्ये सबैभन्दा धेरै ६९४ वटा गैंडा चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा छन् । 

( कान्तिपुर दैनिक )  

Related Post