हिउँदे ओलम्पिकको तयारीमा चीन
News Desk
Aug-08 , 2021 तारिख 04:01 बेलुका

बेइजिङ — जापानको टोकियोमा ग्रीष्मकालीन ओलम्पिक समापन नहुँदै चीनले आसन्न हिउँदे ओलम्पिकको तयारी तीव्र पारेको छ । सन् २०२२ को हिउँदे ओलम्पिक तथा पारा-ओलम्पिकको उद्घाटन तथा समापन समारोह आयोजना गरिने ‘बर्ड नेस्ट’ रंगशालाको मर्मतसम्भारको काम थालिएको चीनले जनाएको छ।‘बर्ड नेस्ट निर्माण तथा मर्मतसम्भारको चरणमा प्रवेश गरेको छ,’ बेइजिङ राज्य स्वामित्वको एसेट्स कर्पोरेसनले आइतबार जानकारी दिँदै भनेको छ, ‘यसै वर्षको अक्टोबरसम्ममा मर्मतसम्भारको काम पूरा हुने लक्ष्य राखिएको छ।’ बर्ड नेस्टअन्तर्गत वाटर क्युब र आइस रिबनको पनि मर्मतकार्य थालिएको छ।बेइजिङ–२०२२ हिउँदे ओलम्पिक रंगशाला तथा यानछिङ हिउँदे ओलम्पिक परियोजना व्यवस्थापन तथा पूर्वाधार योजनाअनुसार बेइजिङ नगरपालिकाको संयोजनमा सन् २०२० भित्र ८ वटा प्रतियोगितास्थलको निर्माण पूरा भएको कर्पोरेसनले जनाएको छ।

१३ वर्षअघि सन् २००८ अगस्ट ८ तारिखमा पनि चीनले विशाल आतिबाजीसँगै बर्ड नेस्टमा ग्रीष्मकालीन ओलम्पिकको समारोह आयोजना गरेको थियो । उक्त आयोजनासँगै चीनले प्रत्येक वर्ष अगस्ट ८ तारिखलाई ‘राष्ट्रिय फिटनेस’ दिवसका रूपमा मनाउने गरेको छकर्पोरेसनका अनुसार बर्ड नेस्टको वार्षिक प्रयोग दर ८५ प्रतिशत छ। सन् २०२१ को पूर्वार्धसम्ममा १० हजारको उपस्थितिका माझ ३२० वटा ठूला प्रतियोगिता सञ्चालन भएका छन्। सन् २००८ को सेप्टेम्बरदेखि सर्वसाधारणका लागि खुला भएयता बर्ड नेस्टले ३५ मिलियन घरेलु तथा विदेशी पर्यटक आकर्षित गरेको छ। ओलम्पिक भावना तथा संस्कृतिको प्रसारका लागि बर्डनेस्ट रंगशाला चर्चित गन्तव्य बनेको छ।बेइजिङ हिउँदे ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ नगरपालिका र छिमेकी हपै प्रान्तको चाङ्च्याखौमा आयोजना हुनेछ। चीनले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न लागेको यो पहिलोपटक हो। । सन् २०१९ को डिसेम्बर ३० तारिखमा बेइजिङ-चाङच्याखौ उच्च-गतिको रेल सञ्चालनमा ल्याइएको छ जसबाट प्रतियोगितास्थलसम्म पुग्न एक घण्टा मात्रै लाग्छ। 

( कान्तिपुर दैनिक )