News Desk
रौतहट — आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगे पनि रौतहटका स्थानीय तहका जनप्रतिनिधिबीचको विवाद साम्य हुन सकेको छैन । एउटै पार्टीबाट निर्वाचित भए पनि जनप्रतिनिधिको अधिकांश समय विवादमा बित्दा पालिकाको विकास निर्माण प्रभावित भएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको चार वर्ष बितिसकेको छ । तर, जिल्लाका १८ वटा पालिकामध्ये अधिकांशमा प्रमुख, उपप्रमुखबीच सुरुवातदेखि नै विवाद छ । सरकारी स्रोत–साधन आफ्नै मुठीमा राख्ने प्रमुखको स्वभावले उपप्रमुखहरू असन्तुष्ट भएका हुन् ।राजदेवी नगरपालिकाका प्रमुख धिरेन्द्र सिंहले स्थानीय तहको पदभार सम्हालेकै वर्ष उपभोक्ता समिति गठनमा एकलौटी गरेको भन्दै उपप्रमुख अंशु सिंहले विरोध जनाइन् । त्यसबेलादेखि सुरु भएको मनमुटाव अहिलेसम्म कायमै छ । उनीहरू बीच बोलचाल र भेटघाट पनि छैन् । प्रमुख धिरेन्द्रसित भेट नभएको ६ महिना बढी भइसकेको उपमेयर अंशु बताउँछिन् । ‘मेयरसाब कहिले कार्यालय आउनुहुन्न । उनले भनिन्, ‘उहा एक्लै हिँड्न र मनमौजी गर्न रुचाउने मान्छे पर्नुभयो । चार वर्षसम्म मन मिलेन । सहकार्य गर्न सकिएन ।’ प्रमुख धीरेन्द्र कांग्रेस र उपप्रमुख अंशु जनता समाजवादीबाट निर्वाचित हुन् । विवादकै कारण नगर परिषद् हुन नसक्दा राजदेवीमा गत वर्ष झन्डै ६ महिनापछि कर्मचारीले तलब पाएका थिएनन् ।
स्थानीय तहको सेवा सञ्चालन सम्बन्धी आदेशमा उपप्रमुखलाई सम्बन्धित कार्यपालिकाको न्यायिक समिति, योजना अनुगमन मूल्यांकन समिति, बजेट परामर्श समिति, विकास बजेट सिलिङ गर्ने समिति संयोजकलगायतका महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । उपप्रमुखको यही जिम्मेवारीमा प्रमुखको चित्त बुझेको छैन । यही अधिकारी प्रयोग गर्न खोज्दा प्रमुख र उपप्रमुखबीच मनमुटाव, बोलचाल बन्द र हातपातसम्मका घटना हुँदै आएका छन् ।रौतहटका उपप्रमुखहरूले भने प्रमुखको हेपाइबाट पीडित भएको भन्दै ‘उपमेयर क्लब’ समेत गठन गरे । ‘स्थानीय तहमा जितेर राम्रै काम गरुला भन्ने सोचेकोमा अहिले आएर बेकारमा चुनावमा उठेछु भन्ने लाग्न थालेको छ,’ देबाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेलको दुखेसो छ । यो नगरपालिकामा प्रमुख पटेल र उपप्रमुख परनिया देवी बीच पनि लामो समयदेखि द्वन्द्व छ । ‘मिलेर काम गरौं भन्दा उपप्रमुख तर्किनु हुन्छ । तर, काम गर्ने बेला विभिन्न खाले बखेडा निकाल्न थाल्नुहुन्छ,’ उनले भने, ‘बितेको चार वर्ष तनावमै समय बिताए । जनताको लागि केही गर्न सकिन ।’
प्रमुख–उपप्रमुखकै झमेलाका कारण नगरपालिकाको परिषद् हुन सकेको छैन ।नगरपालिकाको आन्तरिक द्वन्द्वले गत वर्ष विकास निर्माणको सबै काम ठप्प भयो । परिषद् हुन नसकेपछि कोष तथा लेखा नियन्त्रणको कार्यालयले बजेट रोक्का गरेको थियो । पछि दुई आर्थिक वर्षको एकै पटक परिषद् भएको थियो ।गरुडा नगरपालिकाका प्रमुख इन्दुराय र उपप्रमुख रंगीलादेवी जयसवाल बीच पनि बोलचाल छैन । यो नगरपालिकामा पनि सुरुदेखि नै ‘लफडा’ छ । नगरपालिकाका बिभिन्न गतिबिधि र योजनाको काममा प्रमुख यादव हावी हुँदै आएको भन्दै उपप्रमुख जयसवालले बिरोध जनाउँदै आएकी छन् । गत वर्षको परिषद्मा जयसवालले बहिष्कार गरेर सडकमै नारबाजी गरिन् । आफूहरूको चार वर्ष झगडामै बितेको उपप्रमुख जयसवालले बताइन् । प्रमुख यादवका छोरा अनिल यादव नगरपालिकामा हाबी हुन थालेपछि त्यहाँ लफडा बढेको हो । अहिले कांग्रेस, एमाले, माओवादीलगायतका दल मिलेर प्रमुख यादवले आर्थिक अनियमितता गरेको भन्दै प्रदर्शन गरिरहेका छन् ।
रौतहटकै फतुवा–विजयपुरका प्रमुख गोपालराय यादव र उपप्रमुख कान्ति देवीबीच लामो समयसम्म मनमुटाव रह्यो । जनताको हितमा काम गर्छु भनेर आएको तर केही गर्न नपाएकोमा दुख लागेको प्रमुख यादवले सुनाए । कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा र उपप्रमुख नुरजाहाँ खातुनबीच पनि विवाद छ । प्रमुख कुशवाहा कर्तव्यज्यान मुद्दामा जेल परेपछि कार्यबाहक प्रमुखको भएर सुरुवाती एक वर्ष खातुनले नगरपालिका हाँकिन् । प्रमुख कुशवाहा छुटेर आएपछि उपप्रमुखविरुद्ध हिनामिनाको आरोप लगाइयो । त्यसपछि दुवैबीच सम्बन्ध चिसियो ।अघिल्लो वर्ष विजयपुर र गरुडा नगरपालिकाका उपप्रमुखले प्रमुखविरुद्ध उच्च अदालतमा मुद्दा नै हाले । संविधानले उपप्रमुखलाई दिएको अधिकारको वेवास्ता गरी मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा लागेको भनेर उपप्रमुखहरू अहिलेसम्म आक्रोसित छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनप्रतिनिधि बीचको झगडा प्रशासनसम्म आइपुगेको बताए । ‘जनताले विश्वास गरेर आशा र भरोसाले जिताएका जनप्रतिनिधि यसरी झगडा गर्नु राम्रो होइन,’ उनले भने ।
(कान्तिपुर दैनिक)