News Desk
लुम्बिनी — रूपन्देहीमा दुई महिनादेखि भाइरल ज्वरोका बिरामीको संख्यामा कमी आएको छैन । यस्ता बिरामीले अस्पतालमा भीड बढेका बेला कोरोना संक्रमितको संख्या पनि वृद्धि हुन थालेको छ । साउन दोस्रो साताबाट जिल्लामा संक्रमण बढ्न थालेको हो ।आसपासका जिल्लाबाट पनि कोरोनाका गम्भीर बिरामी उपचारका लागि रूपन्देहीका अस्पतालमा आउने भएकाले चाप छ । चिकित्सकका अनुसार भाइरल ज्वरोका लक्षण कोरोनासित मेल खान्छन् । समान लक्षणका बिरामी बढेपछि उनीहरूको व्यवस्थापनमा चुनौती थपिएको चिकित्सकले बताए ।रूपन्देहीका अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिरहेका चिकित्सकले भाइरलका बिरामी जाँच्ने भएकाले दोहोरो व्यवस्थापन कठिन बनिरहेको उनीहरूको गुनासो छ । भाइरल ज्वरोका बिरामीलाई कोरोनाको संक्रमण छिटो सर्न सक्ने र आफूहरू दुवैको उपचारमा खटिंदा बिरामीलाई समस्या हुन सक्ने उनीहरूको भनाइ छ । गर्मी बढेसँगै तराईमा झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेंगु, हेपाटाइटिस, छालामा संक्रमण हुने समस्या देखिन्छ । यस्ता बिरामीसँगै अहिले कोरोना संक्रमण बढ्दो छ । यस्ता रोगबाट बालबालिकालाई जोगाउन अझ बढी सतर्क रहनुपर्ने चिकित्सकले बताए । यहाँस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा केही दिनयता भाइरलका बिरामी ह्वात्तै बढेको अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए ।
प्रादेशिकमै अहिले कोरोना अस्पतालसमेत सञ्चालन भइरहेको छ । कोरोना अस्पताल भएकाले जिल्लाबाहिरका बिरामीको उपस्थिति बढ्दै जानु स्वाभाविक भएको उनले बताए । ‘दैनिक ८० जनासम्म भाइरलका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘दैनिक २० जना हाराहारी कोरोना संक्रमित उपचारका लागि आउँछन् ।’ भर्ना हुने धेरै नभए पनि पीसीआर जाँचका लागि आउने गरेको र संक्रमण देखिने संख्या बढिरहेको उनले बताए । चिकित्सक थापाले भाइरललाई सामान्य ठान्नु वा बिना कोरोना परीक्षण घरमा बस्नु घातक हुने भन्दै पीसीआर जाँच अनिवार्य गर्न सुझाए । भाइरल र कोरोनाको लक्षण मिल्ने भएकाले घरमै बस्ने प्रवृत्तिले गम्भीर भएपछि अस्पताल धाउने र बेड नपाउने स्थिति हुने उनले जनाए । मानिसलाई भाइरल र कोरोनाको फरक, अस्पतालमै गएर परीक्षण गर्नुपर्ने चेतना हरेक तहबाट पुग्नुपर्ने डा. थापाको भनाइ छ । ज्वरो आएर ओपीडीतिरै लाइन लाग्ने गर्दा यसले स्थिति बिग्रन सक्छ । पीसीआर जाँच गरेर रिपोर्ट नआउन्जेल बिरामी कडा आइसोलेसनमा बस्नुपर्ने उनको सुझाव छ ।
भैरहवामा दिनहुँ भाइरल ज्वरोका ६ र कोरोना संक्रमित पनि दिनहुँ आउने गरेको भीम अस्पतालले जनाएको छ । यसरी आउने भाइरलका ६ मध्ये ३ जनालाई भर्ना गरेरै उपचार गर्नु परिरहेको अस्पतालका सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए । ‘अस्पतालको एउटै भवनमा हरेक रोगका बिरामी आउँदा भाइरल र कोभिड फैलने त्रास छ,’ उनले भने, ‘ज्वरो आएर आउने बिरामीलाई जाँच्न फिभर क्लिनिकको व्यवस्था गर्न सकिए सहज हुने थियो ।’ कोरोना वा भाइरलका बिरामी भनेर छुट्याउन नसकिने गरी लक्षण देखिने भएकाले अलमलमा परिने भन्दै भाइरलले समेत स्वाइन फ्लुजस्तो संकेत देखाइरहेको उनले बताए । डा. पाण्डेले तराई क्षेत्रका मानिस अस्पताल आउँदा कुन शाखा कता भन्नेसम्म ज्ञान नहुने समस्याले पनि कोरोना वा भाइरलका बिरामीसँगै लाइनमा उभिंदा रोग सर्ने सम्भावना बढी हुने जनाए ।
सरकारको निर्देशनमा फिभर क्लिनिकमा जाँचेपछि मात्र कोरोना र अन्य रोगका बिरामी पत्ता लाग्ने भएकाले अस्पतालमा उक्त सेन्टर निर्माण भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । उनले अन्य रोगी र कोरोना रोगी एकै ठाउँ भेट भए संक्रमण समुदायसम्म जाने निश्चित भएकाले अबको व्यवस्थापनमा थप चुनौती थपिने बताए । स्थानीय तह, स्वास्थ्यकर्मी र प्रहरीसँगको संस्थागत सहकार्यमा भदौ १ गतेदेखि केही कडाइका साथ मास्क र स्वास्थ्य सतर्कताको पालना गराउनेतर्फ अग्रसर हुने उनको भनाइ छ ।मानिसले जाँच नगरिदिंदा बिरामी पत्ता लाउन र आइसोलेसनबारे सम्झाउन कठिनाइ भइरहेको उनले बताए । स्वयंको लापरबाहीले समुदायमै रोग पस्ने र अप्ठ्यारो पर्न सक्ने उनको भनाय छ लुम्बिनी प्रदेशमा अहिले कोरोना संक्रमित प्रतिदिन बढिरहेका छन् । शनिबार मात्रै प्रदेशमा १ सय ५८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । शुक्रबार ८३ जना संक्रमित थपिएका थिए भने बिहीबार १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नाकामा थप कडाइ
रूपन्देहीमा कोरोना संक्रमण बढ्न थालेसँगै बेलहिया नाकामा पनि कडाइ गर्न थालिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बेलहिया नाकामा आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो । बैठकले भारतलगायत तेस्रो मुलुकबाट बेलहिया प्रवेश गर्ने मानिसलाई अनिवार्य एन्टिजेन परीक्षण गर्ने र परीक्षणबिना नेपाल प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।त्यस्तै कोभिड रोकथामका लागि शनिबारदेखि जिल्लामा मास्क अभियान सञ्चालन गर्ने निर्णय गरेको डीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । उनले विभिन्न संघ/संस्थालाई मास्क उपलब्ध गराउन लगाएर मास्क बैंक स्थापना गर्ने, बढी भीडभाड हुने कार्यालय, सार्वजनिक बस, सवारी साधन, बसपार्क, अस्पतालमा मास्कको उपयोगितासम्बन्धी जानकारी गराउने र वितरण गरिने बताए ।
(कान्तिपुर दैनिक)