News Desk
रुकुम पूर्व — यहाँको पुथाउत्तरगंगा गाउँपालिकाले भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी थालेको छ । प्रधानाध्यापक र सरोकारवालाहरूले कोरोना संक्रमणको जोखिम घटेको भन्दै विद्यालयमै पठनपाठन थाल्न सकिने सुझाव दिएपछि गाउँपालिकाले विद्यालय खोल्न लागेको हो ।गत साता गाउँपालिकाका ४१ जना शिक्षकमा गरिएको परीक्षणमा संक्रमण शून्य देखिएको थियो । पुथाउत्तरगंगामा बाल विकाससहित ५६ विद्यालय छन् ।
‘कोरोना संक्रमणको जोखिम नभएको अवस्थामा पठनपाठन गर्दा फरक नपर्ने निष्कर्षसहित हामी त्यसको तयारीमा जुटेका छौं,’ देउराली मावि हुकामका प्रधानाध्यापक तुलाराम खड्काले भने, ‘गाउँपालिकामा भएको सरोकारवालाको बैठकमा असजिलो स्थिति नदेखिएसम्म पठनपाठन गराउने समझदारी बनेको छ ।’ गाउँपालिका स्तरमा एन्टिजेन परीक्षण गर्दा शिक्षकमा संक्रमण नदेखिएपछि विद्यालय खोल्न लागिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् । ‘भर्चुअल माध्यमबाट सम्भव नभएपछि भौतिक उपस्थितिमै पठन–पाठनको तयारी गरिएको छ,’ उनले भनिन्, ‘लिखित निर्णय नभए पनि व्यावहारिकता हेरेर विद्यालयमा पठनपाठन गराउने सम्झदारी बनेको हो ।’
भूकम्पले क्षति भएको विद्यालय पुनर्निर्माण
बर्दिया– बर्दियाको बगलामुखी माध्यमिक विद्यालयका तीनवटा भवनसहित २५ वटा कक्षाकोठा पुनर्निर्माण गरिएको छ । २०७२ सालमा आएको भूकम्पले भवनमा क्षति पुर्याएको थियो । नेपाल सुरक्षित विद्यालय परियोजनाद्वारा विपद् व्यवस्थापन जोखिम न्यूनीकरण, खानेपानी सरसफाइ तथा स्वच्छता र भवन प्रबलीकरण कार्य बेलायत सरकारको सहयोगमा पुनर्निर्माण गरिएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए ।८७ लाख रुपैयाँको लागतमा उक्त भवन र कक्षाकोठा पुनर्निर्माण गरिएको हो । कक्षा १ देखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा झन्डै १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।
(कान्तिपुर दैनिक)