News Desk
कालिकोट — शुभकालिका गाउँपालिका–२, भर्ताकी १० वर्षीया सीता सुनार (नाम परिवर्तन) लार्ई खाँडाचक्रका १७ वर्षीय राम विक (नाम परिवर्तन) ले वैशाखमा भगाएर घर भित्र्याए । सीताका बुवाले प्रहरीमा उजुरी दिए । प्रहरीले उमेर पुगेपछि विवाह गर्ने सहमति गराएर घर फर्कायो ।तीलागुफा–३, फोइमहादेवकी १५ वर्षीया एक युवतीले पनि वैसाखमै जुम्लाका एक युवकसँग भागेर विवाह गरिन् । माइतीले प्रहरीमा उजुरी दिएपछि विवाह बदर त भयो, तर असारमा पुनः भागेर युवकको घर गइन् ।यी केही प्रतिनिधिमूलक घटना हुन् । कालीकोटमा बालविवाहविरुद्ध अभियान निरन्तर चले पनि विवाहमा कमी भने भएको छैन । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझको रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले बालविवाह बृद्धिमा भएको छ । वैसाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।दुईवटा विवाहमा भने मुद्दा चलाइएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीका अनुसार बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ । ‘कतिपय विवाह आमाबाबुको सहमतिमा गुपचुप हुने गरेका छन्, छोराछोरी जन्माइसकेपछि मात्र विवाह दर्ता गर्ने चलन बढेको छ,’ उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा चुनौती देखिएको छ ।’
राष्ट्रिय बालअधिकार परिषदको सहकार्यमा चैतदेखि सञ्चालनमा ल्याइएको बाल हेल्पलाइन (१०९८) मा बालविवाहबारे ५ वटा गुनासो आएका छन् । हेल्पलाइनमा कार्यरत मनोविमर्शकर्ता संगीता वलीले सानैमा विवाह गरेपछि उत्पन्न समस्याबारे गुनासो आएका बताइन् । ग्रामीण क्षेत्रमा वालविाह कति भयावह छ भन्ने कुरा तिलागुफा र शुभकालिका गाउँपालिकाको तथ्यांकले देखाउँछ । सहयात्रा परियोजनाको तथ्यांकअनुसार त्यहाँ सन् २०२० मा ४ सय ३४ विवाह भएकोमा १ सय ६९ विवाह उमेर नपुगेका थिए । शुभकालिका– १ का वडाध्यक्ष वीरबहादुर बुढामगरले बालविवाहकै कारण छोरी गुमाउनु पर्यो । १५ वर्षीया छोरी गत मंसिरमा अछाम कालापानीका १८ वर्षीय डम्बर बुढामगरसँग भागेर गइन् । विवाह गरेको दुई महिनामै आत्महत्या गरिन् । माइतीले भने कुटपिट गरी हत्या गरिएको आरोप लगाउँदै आएको छ ।बालविवाहको कारण दाम्पत्य जीवनसमेत खलबलिने गरेको छ । घरेलु हिंसा हुँदै सम्बन्धविच्छेदसम्म हुने गरेका प्रहरीको भनाइ छ । अहिले पनि जिल्ला अदालतमा २३ वटा सम्बन्धविच्छेका मुद्दा चलिरहेका छन् । तीमध्ये ८० प्रतिशत बालविवाहको कारण सम्बन्धविच्छेदसम्म पुगेका प्रहरीको भनाइ छ ।
कलिलैमा आमा बन्दा मातृशिशुको स्वास्थ्य जोखिम, कुपोषण, पाठेघर खस्ने समस्या, पारिवारिक विखण्डन हुने समस्या देखिने गरेका छन् । खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजाय बिष्ट बालविवाहबारे समाज सचेत हुनुपर्ने बताउँछिन् । ‘घरेलु हिंसाले बालिकाको ज्यानैसम्म जाने गरेका घटना हुने गरेका छन्, तैपनि समाज अझै सचेत हुन सकेको देखिँदैन,’ उनले भनिन्, ‘बालविवाह अन्त्य नगरी शान्त र समृद्ध समाज बनाउन संभव छैन ।’आश्चर्य त यो छ कि अधिकांश विवाहबारे अभिभावकलाई जानकारी हुन्छ । उनीहरूले नै विवाह गुपचुप गराउँछन् । सन् २०२० मा शुभकालिका र तिलागुफामा भएका १ सय ५६ बालविवाहबारे उनीहरूका अभिभावकको मिलेमतो पाइएको बालअधिकारकर्मी बाले विश्वकर्मा बताउँछन् । ५ वर्षअघि ६१ प्रतिशत रहेको बालविवाह दर अहिले २५ प्रतिशत पुगे पनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको उनको भनाई छ ।
बालविवाहविरुद्ध सक्रिय अभियानकर्मीका अनुसार बालविवाह न्यूनीकरणमा शिक्षा सबैभन्दा ठूलो बाधक हो । कालीकोटमा बालिका तथा नारी शिक्षाको अवस्था निकै कमजोर छ । आधारभूत र मावि तहको शिक्षामा छोरा र छोरीको संख्यामा त्यति धेरै फरक नभए पनि उच्च शिक्षामा भर्ना हुने छात्राको संख्या निकै कम छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका अनुसार उच्च शिक्षामा छात्राको भर्ना दर ३२ प्रतिशतमात्र छ । कार्यालय प्रमुख महेशदत्त देवकोटा उच्च शिक्षामा छात्राको संख्या कम हुनुले बालविवाह बढी हुने संकेत गरेको बताउँछन् ।
(कान्तिपुर दैनिक)