स्यार्पुको बिजुली प्राधिकरणले किन्ने
News Desk
Aug-09 , 2021 तारिख 12:45 बेलुका

रुकुम पश्चिम — २५ श्रावण  २०७८   

रुकुम पश्चिम , बाँफीकोट गाउँपालिका–३ स्थित स्यार्पुमा निर्माणधीन विद्युत् आयोजनाको बिजुली नेपाल विद्युत् प्राधिकरणले किन्ने भएको छ । त्यसका लागि स्यार्पु पावर कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच शुक्रबार विद्युत खरिद–बिक्रीको सम्झौता (पीपीए) भएको हो ।

सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदिप ओली र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका छन् । स्यार्पु पावर कम्पनीले स्यार्पूतालबाट बगेको पानीबाट अर्को विद्युत् आयोजना निर्माण गर्दैछ । प्रमुख कार्यकारी अधिकृत ओलीका अनुसार जिल्ला समन्वय समितिको पूर्ण स्वामित्वमा रहने गरी स्यार्पु पावर कम्पनी स्थापना भएको हो । जसमा जिल्लाका सबै स्थानीय तह र जिल्लावासीको सेयर लगानीमा ३.३ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

खरिद–बिक्री सम्झौता भएसँगै उक्त आयोजनाबाट वार्षिक रूपमा उत्पादन हुने १ करोड ८१ लाख ७७ हजार १ सय ५ युनिट विद्युत् प्राधिकरणले खरिद गर्नेछ । त्यसबाट आयोजनाले वार्षिक १० करोड १५ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । निर्माणको करिब ५० प्रतिशत काम सकिएको प्रमुख कार्यकारी अधिकृत ओलीले बताए ।

(कान्तिपुर दैनिक)

Related Post