News Desk
बागलुङ — २५ श्रावण २०७८
बागलुङ , काम सकिएपछि मूल्यांकन गर्ने र अनुगमन प्रतिवेदनअनुसार भुक्तानी गर्नुपर्ने आर्थिक नियमावलीविपरीत यहाँको एक सडक आयोजनाको कामै नसकी भुक्तानी दिइएको छ । साउनको अन्तिम सातादेखि निर्माण हुने योजनाको असार मसान्तमै काम सकिएको भन्दै मूल्यांकन गरिएको थियो ।गत असार मसान्तमा सक्नुपर्ने बागलुङ नगरपालिका–७ को ढीकीचौरदेखि पैह्राबारी हुँदै काठेखोलाको भीमापोखरा जोड्ने उक्त सडक अझै सम्पन्न भएको छैन ।
इन्जिनियरले असार मसान्तमै काम सकेको भन्दै अन्तिम मूल्यांकन गरिदिएपछि नगरपालिकाले रकम भुक्तानी गरेको हो । यो सडकमा स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमको बजेटबाट रकम विनियोजित थियो । ३३ लाख २७ हजार लागत स्टिमेटको सडकमा उपभोक्ताले ठेक्का दिएर २४ लाख रुपैयाँमा काम लगाएका थिए । २० प्रतिशत लागत साझेदारीको काममा उपभोक्ताले १८ लाख ४२ हजार भुक्तानी पाइसकेको वडा अनुगमन समितिका संयोजक तथा वडासदस्य रमेश किसानले बताए ।
असारभित्र जे जति काम भएको हो, त्यतिमात्रै मूल्यांकन गरेर भुक्तानी दिनुपर्नेमा गर्छन् होला भनेर मूल्यांकन गरिएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘काम गरे होलान भनेको, अझै गरेको रहेनछन्, त्यसैले तत्काल सक्न ताकेता गरेका छौं,’ सुवेदीले भने, ‘कानुनी रूपमा भन्दा पनि व्यावहारिक रूपमा काममा लगाएका हौं ।’ यो सडकमा आरसीसी पर्खाल लगाउने काम अझै बाँकी छ । ‘११ घनमिटरको पर्खाल बनाउन बाँकी रहेको हो, अरू त असार मसान्तमै सकिएको थियो,’ वडासचिव हिराबहादुर क्षत्रीले भने, ‘अत्यधिक वर्षात्ले नभ्याएको काम अहिले गर्न लागेका हौं ।’ केही दिनमै काम सकिने उनले बताए ।
वर्षात्मा काम नसकिएको, अहिले पनि घरछेउमा जोखिम भएकाले काम गर्न लगाइएको वडाध्यक्ष खगराज पाण्डेले बताए । ‘फरफारक भए पनि जोखिम भएकाले काम गर्न फेरि सम्झौता गरिएको हो,’ पाण्डेले भने, ‘हाकिम, इन्जिनियर र प्रशासकीय अधिकृत आएर सम्झौता गरेपछि म पनि सहभागी भएको हुँ ।’ कानुनले नपाइने काम व्यावहारिक समस्याले गर्नुपरेको उनले बताए ।काम नसकिँदै भुक्तानी दिएको चर्चापछि गत बुधबार प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीसहित सुवेदी, इन्जिनियर मनोज शर्मा र वडाध्यक्ष बसेर उपभोक्तालाई काम गर्न लगाएका थिए । शनिबार काम लगाउन पुगेका वडासचिव क्षत्री कामदार नआएर फर्केका छन् ।
‘कामदार आइदिएनन्, नत्र एक/दुई दिनमै सकिन्थ्यो,’ उनले भने, ‘घररूप जोखिममा नपरून् भनेर पर्खाल लगाउन लागेका हौं ।’ तर झन्डै ९ घनमिटरको आरसीसी पर्खाल लगाएको भुक्तानी भने नपाउने किसानले बताए । ‘यो असारमै सकिनुपर्ने काम हो, नगरेको देखियो, त्यसैले गर्न लगाएका हौं,’ उनले भने, ‘मूल्यांकन गर्दा यो पनि गरिदिनु भनेका थियौं, गर्नु भएको रहेनछ, त्यसैले अहिले काम लगाएका हौं ।’प्राविधिकका अनुसार पर्खाल लगाउन कम्तीमा ३ लाख खर्च हुन्छ । कामै नभई मूल्यांकन भएको भए अनियमितता हुने नगरप्रमुख जनकराज पौडेलले बताए । ‘त्यस्तो भएको छैन होला, म पनि बुझौंला,’ पौडेलले भने, ‘पहिरो पन्छाउने र खाल्डा पुर्ने काम भने नगरपालिकाले निरन्तर गर्छ ।’ उनले उक्त योजनाको बारे जानकारी लिने बताए ।
(कान्तिपुर दैनिक)