नहरमा गाडी खस्दा एकको मृत्यु, एक जना बेपत्ता
News Desk
Aug-09 , 2021 तारिख 02:13 बेलुका

रौतहट — २५ श्रावण  २०७८    

रौतहट, चन्द्रपुर नगरपालिका–१ मा सोमबार बिहान बोलबम यात्री सवार गाडी नहरबाट खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना बेपत्ता भएका छन् भने ९ जना घाइते छन् । बिहान करिब ४ बजे वाग्मती नदीबाट जल लिएर बारास्थित काटघाट मन्दिर जाँदै गर्दा उनीहरू सवार ना५च ३१६६ नम्बरको बोलेरो गाडी नुनथर नहरमा पल्टिएको हो ।मृत्यु हुनेमा बारा, गढीमाईकी ४५ वर्षीया मीनादेवी कोइरी रहेको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी लीलाराज लामिछानेले बताए । गाडीमा २० जना सवार थिए ।

प्रहरीका अनुसार दुर्घटनापछि ६५ वर्षीया सुनरीदेवी मुखिया नहरमै बेपत्ता भएकी छन् ।घाइतेहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको अस्पतालका चिकित्सक सुभाष चौधरीले बताए । प्रहरीले गाडी चालक अनिल शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।बेपत्ता महिलाको खोजीका लागि प्रहरीले नेपाली सेनासित मद्दत मागेको छ । अहिले नहरको पानी सुकाएर खोजतलास जारी राखिएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो । 

(कान्तिपुर दैनिक)  

Related Post