News Desk
म्याग्दी — २५ श्रावण २०७८
म्याग्दी, सदरमुकाम बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत ९ आमाले एसईई पास गर्ने सपना पूरा गरेका छन् । सम्भवतः नेपालमै पहिलो पटक अनौपचारिक वैकल्पिक विद्यालयमा पढेर एसईई उत्तीर्ण गरेका हुन् ।४८ वर्षीया भुलकुमारी रोका, तिर्सना भण्डारी (३६ वर्ष), लालकुमारी सापकोटा (५५), सविना नेपाली (३७), ललिता तिलिजा (२४), भुलमाया तिलिजा (६०), सलिना विक (२५), पुष्पा शाही (२८) र रेणु विक (३०) उत्तीर्ण भएका हुन् ।
‘उमेरमा गोठ बस्नु परेकाले पढ्न पाइएन । आफैंले नाम लेख्ने धोको थियो, एसईई पास भएको आफैलाई सपनाजस्तै लागेको छ,’ भूलमाया तिलिजाले भनिन्, ‘फुर्सदको समयमा पढ्ने । चार महिना त गणित, अंग्रेजी र विज्ञानको कोचिङ पनि पढेको थियौं । पास हुँदा औधी खुसी छु ।’ विद्यालय उमेरमा औपचारिक शिक्षा नपाएका वा बीचमै कक्षा छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन सामुदायिक सक्रियतामा खुलेको उज्यालो वैकल्पिक विद्यालयबाट पहिलो ब्याचका उत्तीर्ण भएका हुन् ।
विद्यालयमा अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम पढाइन्छ । तर कक्षा ८, ९ र १० का लागि अनौपचारिकतर्फको पाठ्यक्रम नपाएपछि औपचारिक विद्यालयकै पाठ्यक्रम पढेका थिए । ‘हिम्मत ठूलो रहेछ । स्कुल पढ्ने कत्रो धोकोले बुढौली उमेरमा दिउँसो स्कुल पढेर पनि पास भयौं,’ लालकुमारी सापकोटाले भनिन्, ‘वर्षभरि पढेर पनि परीक्षा दिन पाइएन । लेखेरै पास गर्ने धोको थियो, जे होस एसईई पास भए, धोको पूरा भयो ।’विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत वयस्कलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ देखि उज्यालो वैकल्पिक विद्यालय खुलेको हो ।
(कान्तिपुर दैनिक)