News Desk
दोलखा — साउनको दोस्रो साता शैलुङ–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषलाई सघन उपचारको खाँचो परेपछि चरिकोट अस्पतालले काठमाडौं रेफर गर्यो । उनको भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै साउन १९ मा मृत्यु भयो । पछिल्लो ३ सातामा चरिकोट अस्पतालबाट रेफर गरिएका १५ मध्ये ४ संक्रमितको मृत्यु भएको छ ।अन्य ११ जनाको अवस्था पनि गम्भीर रहेको अस्पतालका मेडिकल अधिकृत डा. विनोद दंगालले बताए । गम्भीर बिरामीलाई आईसीयू र भेन्टिलेटर चाहिन्छ तर अस्पतालमा भएका आईसीयू र भेन्टिलेटर प्रयोगमा नआउँदा बिरामीलाई राजधानी पठाउनुपरेको उनले बताए ।
वाग्मती प्रदेशले गत आर्थिक वर्षको अन्त्यमा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालमा रूपान्तरण गरी आईसीयू बेड राख्न बजेट विनियोजन गरेको थियो । आइतबारसम्ममा अस्पतालमा ६ भेन्टिलेटर, २ पीआईसीयू, ४ आईसीयू र ६ एचडीयू बेडको व्यवस्थापन भइसकेको छ । तर एचडीयूमा बिरामी भर्ना भए पनि जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकिएको डा. दंगालले बताए । ‘अक्सिजन प्लान्ट जडान ३ साताभित्र हुन्छ,’ डा. दंगालले भने, ‘आईसीयू र भेन्टिलेटर चलाउन जनशक्ति छैनन्, गम्भीर प्रकृतिका बिरामी रेफर गर्नुपर्ने बाध्यता हो ।’
उनका अनुसार यहाँ आईसीयू सञ्चालनमा ल्याउन एनेस्थेसिया र मेडिसिनका १/१ चिकित्सक र क्रिटिकल केयरको तालिम लिएका ८ जना नर्स आवश्यक पर्छ । ‘प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गरिदिए जडान भएका उपकरण चल्थे,’ उनले भने, ‘बिरामीले महँगो शुल्क तिरेर हेलिकप्टर र अन्यको विकल्प रोज्नुपर्ने थिएन ।’ जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा पनि गम्भीर प्रकृतिका बिरामीको चाप बढेको उनले बताए । गत वैशाख र जेठमा यहाँबाट १९ जना कोरोनाका गम्भीर बिरामीलाई अन्य अस्पतालमा रेफर गरिएको थियो । तीमध्ये ५ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । उनीहरू सबैको उपचारका क्रममा मृत्यु भएको डा. दंगालले बताए । चरिकोटबाट काठमाडौं हेलिकप्टरमार्फत बिरामी लैजाँदा १ लाख ८० हजारदेखि ३ लाख रुपैयाँसम्म लाग्छ । एम्बुलेन्समा लैजाँदा ८ हजार रुपैयाँ लाग्छ । ‘आर्थिक अवस्था कमजोर भएकाहरूले बिरामीलाई अन्यत्र लैजान सक्दैनन् । यस्ता ४ संक्रमितले थप उपचार नपाएरै ज्यान गुमाउनुपर्यो,’ उनले भने ।
अक्सिजन प्लान्टबिना भेन्टिलेटर चलाउन मुस्किल हुने भएकाले प्लान्ट जडानको काम तीव्र पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भीमेश्वर नगर प्रमुख भरतबहादुर केसीले बताए । ‘भदौ दोस्रो सातासम्म अक्सिजन प्लान्ट जडान हुन्छ,’ उनले भने, ‘जनशक्ति व्यवस्थापनमा भने चुनौती छ ।’ विज्ञापन खुलाएर जनशक्ति व्यवस्थापनको तयारी थालेको उनले बताए । अस्पतालमा आईसीयू र भेन्टिलेटर कक्षको समेत अभाव रहेको उनले सुनाए । ‘अस्पताल क्षेत्रमा रहेको स्वास्थ्य कार्यालयको भवन उपयुक्त भए पनि खाली नहुँदा समस्या भएको छ,’ उनले भने, ‘स्वास्थ्य कार्यालयले आफ्नो भवन अस्पताललाई दिएर खाली रहेको तत्कालीन महिला विकासको भवन प्रयोग गरेको भए हुन्थ्यो ।’अस्पताललाई चाहिने आवश्यक जनशक्ति व्यवस्थापनका लागि परिपत्र गरिसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढार्इंले बताए । ‘अस्पताललाई चाहिने जनशक्ति अस्पताल आफैंले राख्न पनि सक्छ,’ उनले भने, ‘त्यहीअनुसार बजेट व्यवस्थापन हुन्छ ।’
प्रदेश सरकारले यो अस्पताललाई आफू मातहत ल्याए पनि हालसम्म कर्मचारी भने पठाएको छैन । यसअघि न्याय हेल्थ नामक संस्थाको सहयोगमा सञ्चालन हुँदै आएको अस्पताल उक्त संस्थाले गत वर्षबाट हात झिकेपछि भीमेश्वर नगरपालिकाले सञ्चालन गरिरहेको थियो । अस्पतालमा हाल ७२ जना कर्मचारी छन् । उनीहरुको व्यवस्थापन नगरपालिकाले हेर्दै आएको छ । असार मसान्तसम्म करारमा भएका कर्मचारीको पुनः करार थपिने अध्यक्ष केसीले बताए । ‘प्रदेशले लोक सेवाबाट कर्मचारी नपठाएसम्म हाल कार्यरत कर्मचारीको करार थपिन्छ,’ उनले भने ।
(कान्तिपुर दैनिक)