अनुभवै नभएकालाई गृह सचिव !
News Desk
Aug-10 , 2021 तारिख 12:51 बेलुका

काठमाडौँ — २६ श्रावण २०७८   

काठमाडौँ, सरकारले गृह प्रशासनको अनुभव नभएका टेकनारायण पाण्डेलाई गृह सचिवमा सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो । गृह सचिव महेश्वर न्यौपानेलाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । गृह सचिवमा यादवप्रसाद कोइराला, एकनारायण अर्याल, केबल भण्डारीलगायतको चर्चा थियो । गृह प्रशासनमा समग्र सुरक्षा व्यवस्थापन, त्यससँग जोडिएका नीति/निर्णय तर्जुमा, अर्धन्यायिक अधिकार प्रयोग, सीमा सुरक्षा, विपद् व्यवस्थापनलगायतमा पोख्त व्यक्ति चाहिन्छ ।

प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विषय, अन्तरसुरक्षा निकायबीच प्रभावकारी समन्वय जस्ता महत्त्वपूर्ण क्षेत्रमा गहिरो अनुभव भएकाबाट मात्रै गृह प्रशासनले प्रभावकारी नतिजा हासिल गर्न सक्ने जानकार बताउँछन् । ‘अब गृहको नेतृत्वमा अनुभव नै नभएका सचिव आइरहे गृहबाटै करिअर बनाउँछु भनेर काम गर्ने अवस्था अन्त्य हुन्छ,’ सुरक्षासम्बन्धी जानकार एक सचिवले भने ।करिब २७ वर्षको सेवाकालमा पाण्डेसँग गृहका कुनै पनि विभाग र कार्यालयमा काम गरेको अनुभव छैन । २०५१ सालमा शाखा अधिकृतका रूपमा सरकारी सेवा प्रवेश गरेका पाण्डे शिक्षा क्षेत्रका विज्ञ हुन् । उनी शाखा अधिकृतदेखि सहसचिवसम्म शिक्षा मन्त्रालय– अन्तर्गतकै विभिन्न भूमिकामा थिए । लुम्बिनी प्रदेश सरकारको सचिव रहेकै बेला २०७६ फागुनमा सचिव (विशिष्ट श्रेणी) मा बढुवा भएका पाण्डे त्यसपछि कर्णाली प्रदेशको प्रमुख सचिव बनेका थिए ।

गृह प्रशासनको अनुभव नै नभएका प्रशासकलाई समग्र सुरक्षा व्यवस्थापनको नेतृत्व गर्ने मन्त्रालयमा सरुवा गरिनु गलत भएको पूर्वगृह सचिव खेमराज रेग्मी बताउँछन् । गृहका कैयौं अनुभवी प्रशासकलाई पन्छाएर कहिल्यै अनुभव नलिएका प्रशासकलाई जिम्मेवारी दिइनु सरकारको गलत र अनुचित निर्णय भएको रेग्मीले टिप्पणी गरे । ‘सुरक्षा निकायसँग भिजेर काम गरेका अनुभवी प्रशासकलाई अवसर दिनुपर्नेमा सरकारले विज्ञ र क्षमतावान्लाई बेवास्ता गरेको छ,’ उनले भने, ‘गृहमै करिअर बनाएर बसेका प्रशासकहरूलाई यस्ता निर्णयले अपमान बोध भएको होला ।’गृह मन्त्रालयमा सरुवा भएपछि कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै सचिव पाण्डेले भने काम गर्न सक्तैन भनेर प्रश्न गर्नेहरूलाई प्रभावकारी नतिजा हासिल गरेर देखाउने प्रतिक्रिया दिए । ‘एउटा क्षेत्रमा काम गरेको प्रशासकले अरू क्षेत्रमा ज्ञान नै राख्दैन भन्ने हुन्छ र ? मेरो क्षमतामाथि ‘ब्लेम’ लगाउनेलाई काम गरेर देखाउँछु, विरोधीहरूलाई नतिजाबाटै जवाफ दिन्छु,’ उनले भने ।

(कान्तिपुर दैनिक) 

Related Post