News Desk
काठमाडौँ — २६ श्रावण २०७८
काठमाडौँ, नेपाल वायु सेवा निगमलाई कम्पनीमा बदल्ने प्रस्तावविरुद्ध एक महिनादेखि आन्दोलन चलिरहेकै बेला नागरिक उड्डयन प्राधिकरणमा कार्यरत ट्रेड युनियनका कर्मचारी अर्को विरोधमा उत्रिएका छन् ।हवाई क्षेत्रलाई सेवा प्रदायक र नियमनकारी निकाय टुक्र्याउने उद्देश्यसहित राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ को उनीहरूले विरोध गरेका हुन् ।
६ वटा ट्रेड युनियनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्राधिकरणलाई दुइटा संस्थामा बदल्ने योजना ‘निहित स्वार्थ समूहको उद्देश्य पूर्तिका लागि मात्रै’ भएको दाबी गर्दै बुधबारसम्मका लागि आन्दोलनको घोषणा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई जिम्मा लगाउन र समग्र हवाई सेवालाई महँगो बनाउने उद्देश्यले राष्ट्रिय सभाले अघिल्लो सोमबार विधेयक पारित गरेको युनियनको आरोप छ ।
(कान्तिपुर दैनिक)