प्रधानसेनापतिको कार्यभार हस्तान्तरण
News Desk
Aug-10 , 2021 तारिख 02:31 बेलुका

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापति तथा बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गरेका छन् । थापा आफ्नो तीनवर्षे कार्यकाल (भदौ २४ मा) सकिनु एक महिनाअघि मंगलबारबाट घर बिदामा बस्न लागेका हुन् ।सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा उनले शर्मालाई आफ्नो जिम्मेवारीको अख्तियारी दिएका हुन् ।थापाले भदौ २४ मा पूर्ण रूपमा प्रधासेनापतिको कार्यभार शर्मालाई बुझाउनेछन् ।

त्यसपछि शर्मा नेपाली सेनाको ४४ औं प्रधासेनापति बन्नेछन् । सरकारले साउन २६ देखि शर्मालाई कायममुकायम प्रधानसेनापतिको अख्तियारी दिने निर्णय गरेको थियो । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा आफ्नो जिम्मेवारी हस्तान्तरण गर्दै थापाले नेपाली सेनाले अनुभवी र क्षमतावान् नेतृत्व प्राप्त गर्न लागेकामा खुसी व्यक्त गरेका थिए । ‘आगामी दिनमा नेपाली सेना थप पेसेवर हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने ।सेनाका अनुसार बलाधिकृत रथी शर्माले पनि नेतृत्व हस्तान्तरणको प्रक्रियालाई अत्यन्तै व्यवस्थित र सहजीकरण गरिदिएकामा प्रधानसेनापति थापालाई धन्यवाद दिएका थिए । उनले सैनिक संगठनमा सामूहिक भावना नै सर्वोपरि रहेको र यसका लागि तालिमको महत्त्व रहेको चर्चा गर्दै सुधारका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

(कान्तिपुर दैनिक)   

Related Post