News Desk
काठमाडौँ — भन्सार चोरीका मोबाइल ल्याउने क्रम रोकिएको र अनलाइन कक्षा सञ्चालनलगायत कारण औपचारिक माध्यमबाट हुने आयात दोब्बर पुगेको छ । कोभिड–१९ का कारण भारतसँगको खुला सीमा बन्द भएकाले भन्सार चोरीका मोबाइल फोन आउने क्रम यति बेला रोकिएकाले आयात बढेको भन्सार विभागको तथ्यांकले पनि पुष्टि गर्छ ।आर्थिक वर्ष २०७५/७६ मा १९ अर्ब २७ करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरका ४२ लाख ७५ हजार ५ सय १८ थान मोबाइल फोन आयात बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा भने ३६ अर्ब ९० करोड ४५ लाख ८४ रुपैयाँ बराबरको ७० लाख ३० हजार ३ सय थान भित्रिएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७६/७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँ बराबरको ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइल फोन भित्रिएको छ ।
यी मोबाइल फोन अफगानिस्तान, अस्ट्रेलिया, अस्ट्रिया, बहराइन, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, फिनल्यान्ड, जापान, मलेसियालगायत मुलुकबाट आउने गरेका छन् । यसबाट विभागले आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ५२ करोड ४९ लाख ९४ हजार राजस्व उठाएको छ । आर्थिक वर्ष २०७६/७७ मा भने २ अर्ब ८७ करोड ९१ लाख ४२ हजार र २०७७/७८ मा ५ अर्ब ८४ करोड ९ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने पछिल्लो समय विद्यालय एवं कलेजहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेको र त्यसका लागि स्मार्टफोन आवश्यक पर्ने भएकाले मोबाइल आयात बढेको बताए । ‘भन्सार चोरी भएर आउने मोबाइलको संख्या पहिला पनि त्यति धेरैचाहिँ थिएन,’ उनले भने, ‘कोभिडअघि व्यक्तिहरू सीमापारि गएर एक–दुई थान मोबाइल ल्याउने गरेका थिए । त्यो भने रोकिएको हो ।’ गत वर्षको तुलनामा ६० प्रतिशत मोबाइल आयात बढेको उनले जानकारी दिए ।
कोभिडका कारण सीमा बन्द भएकाले चोरीका फोन भित्रिन र बिक्री हुन नपाएकाले औपचारिक बाटोबाट आयात बढेको देखिएको ताम्राकार व्यापार संघ अध्यक्ष जगद साउदको अनुमान छ । ‘पहिला सीमा पारिबाट किनेर ल्याएका फोन तथ्यांकमा देखिन्नथे । त्यसले यहाँको बजार ओगटेको थियो । अहिले भने यहाँकै बजारबाट किन्ने गरेकाले आयात बढेको हुन सक्छ,’ उनले भने । अनलाइन कक्षा, भर्चुअल मिटिङ, युट्युब चलाउने, इन्टरनेटमार्फत फिल्म हेर्ने र सामाजिक सञ्जालका प्रयोगकर्ता बढेकाले पनि मोबाइल फोनको माग धेरै आइरहेको उनले सुनाए ।‘कोभिड सुरु भएको दुई वर्ष भइसक्यो । यसले गर्दा मानिससँग प्रशस्त समय निस्कियो । धेरै कुरा अनलाइनबाटै हुने भए । त्यसैले मोबाइलको माग बढेको हो,’ उनले भने । सबै किसिमका एप्लिकेसन चल्ने स्मार्टफोनको माग बजारमा धेरै रहेको उनले जानकारी दिए । १० देखि २५ हजार रुपैयाँसम्मका स्मार्टफोनको बिक्री बढी मात्रामा रहेको पनि उनको भनाइ छ । काठमाडौंको न्युरोडबाट मात्र प्रतिदिन १५ सयदेखि २ हजार थानसम्म स्मार्टफोन बिक्री भइरहेको उनले बताए ।
‘गाउँमा बार फोन चलाउने सीमित छन्,’ उनले थपे, ‘त्यहाँ पनि ७/८ देखि १० हजार रुपैयाँसम्मका स्मार्टफोनको माग छ ।’ गाउँमा पनि अनलाइन कक्षा लिनुपर्ने, युट्युब चलाउने र विदेशमा भएका आफन्त अनि साथीभाइसँग भिडियो कल गर्न उपयोगी हुने भएकाले पनि स्मार्टफोनका प्रयोगकर्ता बढिरहेको उनले जानकारी दिए । कोभिडका कारण प्रयोगकर्ताहरूको मागअनुसार कम्पनीले उत्पादन गर्न नसकिरहेकाले बजार पहिला जस्तै अवस्थामा आइनसकेको उनले सुनाए ।साउनदेखि लागू भएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ले पनि विदेशबाट भित्रिने मोबाइलमा तत्कालै प्रभाव नदेखिएको उनको भनाइ छ । ‘तत्कालै यसको प्रभाव देखियो भन्न सकिँदैन,’ उनले भने, ‘बाहिरबाट आउनेहरूले अहिले पनि मोबाइल ल्याइरहेका छन् । यसरी आउने फोन नियन्त्रण गर्ने एप कार्यान्वयन के कसरी भइरहेको छ/छैन, हेर्नुपर्छ । यसको बिस्तारै प्रभाव पर्छ भन्नेमा आशावादी छौं ।’
(कान्तिपुर दैनिक)