व्यवसायी कक्षपतिको निधन
News Desk
Aug-10 , 2021 तारिख 03:01 बेलुका

काठमाडौँ — नेपालमा रेस्टुरेन्ट व्यवसायका अग्रणी श्यामसुन्दर लाल कक्षपतिको निधन भएको छ । सत्तरीको दशकमा काठमाडौंको रत्नपार्कमा ‘क्याफे द पार्क’बाट व्यवसायमा अघि बढेका ७० वर्षीय कक्षपति पछिल्लो समय दायाँ बंगाराको क्यान्सरबाट पीडित थिए ।चार महिनादेखि थाइल्यान्डमा उपचार गराइरहेका कक्षपतिको उपचारकै क्रममा सोमबार निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

दरबारमार्गमा चार दशक नाङ्लो रेस्टुरेन्ट चलाएका कक्षपति होटल संघ नेपालका पूर्वअध्यक्षसमेत हुन् । पछिल्लो पटक दाजु गोपालसुन्दर लाल कक्षपतिसँग अंशबन्डा भएपछि श्यामले दरबारमार्गस्थित नाङ्लोको स्थानमा श्याम्स वान ट्री क्याफे सञ्चालनमा ल्याएका थिए ।कक्षपतिको निधनले नेपालको पर्यटन क्षेत्रले एक अग्रणी व्यवसायी गुमाएको होटल एसोसिएसन अफ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । कक्षपतिका एक छोरा, छोरी र श्रीमती छन् ।

(कान्तिपुर दैनिक)