हेलम्बुमा अझै रोकिएन बाढीको विध्वंस
News Desk
Aug-11 , 2021 तारिख 11:30 बिहान

सिन्धुपाल्चोक — २७ श्रावण २०७८    

सिन्धुपाल्चोक , हेलम्बु गाउँपालिकाको चनौटे बजारस्थित रातो पुल मेलम्ची बाढीले बगाएयता यस क्षेत्रका स्थानीयलाई रातदिन चैन छैन । हेलम्बु गाउँपालिका–१ स्थित सेमेसिदाङ हिमशृंखलाको काख भेमाथाङ चौरबाट सोहोरिएर आएको लेदोसहितको बाढीले केही समययता दिनहुँजसो घरटहरालगायतका संरचना बगाइरहेको छ । भेमाथाङको डरलाग्दो संरचना देख्दा तर्सिएका हेलम्बु–१ मेलम्चीघ्याङका ६१ वर्षीय दाबा ह्योल्मो दिनभर आफ्नो गाउँबाट हिँडेर चोक्पु खोला आइपुग्दा निकै थाकेका थिए । त्यहाँको पुल र सडक बाढीले बगाएपछि सम्पर्क जोड्न हेलम्बु गाउँपालिकाले प्राविधिक अध्ययन सकेर आइतबार तुइन सञ्चालनमा ल्याए । ‘कहिले सकिएला यो बाढीको दुःखको शृंखला ? कतिन्जेल यसरी हामी घण्टौं हिडिरहनुपर्ने हो ?’ सोमबार तुइनबाट खोला तरेपछि ह्योल्मोले प्रश्न गरे ।

हेलम्बुको चनौटे बजार जोड्ने मोटरबेल पुलसहित बाढीले तटीय भेग सबै ध्वस्त तुल्याएयता हेलम्बुसहित मेलम्ची नगर र पाँचपोखरी थाङपाल गाउँपालिकाको केही वडा नाकाबन्दीमा परेका छन् । हेलम्बुको मात्रै साबिक हेलम्बु, मेलम्चीघ्याङ, खार्चुङ, घ्याङुल, तार्केघ्याङ, सर्कथली, शेर्माथाङ, तिम्बु पाल्चोकजस्ता दुई दर्जन गाउँबस्ती सडक र सञ्चारबाट पूरै अलग्गिएका हुन् । ‘चनौटेको रातो मोटरबेल पुल बाढीमा बगेपछि पर्यटकीय गन्तव्य हेलम्बु कर्णालीको विकट गाउँजस्तै बनेको छ,’ ह्योल्मोले भने ।बाढीका कारण हेलम्बुका स्थानीय र मेलम्ची खानेपानी आयोजनाका कर्मचारी गरी ५ जनाले ज्यान गुमाए । अझै २० जना बेपत्ता छन् । बाढीले त्यस क्षेत्रका ४ वटा पक्की पुलसहित ७ झोलुंगे पुल बगायो भने २ हजार ५ सय परिवार घरबारविहीन बने । ‘आफन्त बेपत्ता हुनु र गुमाउनुको पीडा त छँदै छ, आफ्नै थातथलोबाट विस्थापित हुनुपर्दा निकै दुःख लागेको छ,’ हेलम्बु–६ चालिसे गाउँकी पार्वती भण्डारीले दुखेसो गरिन् । हेलम्बु गाउँपालिका–१ का अध्यक्ष मिङमार ह्योल्मोले चनौटेको पुल बगेपछि संकट थपिएको बताए । ‘यहाँको तटीय क्षेत्रमा बाढीले केही बाँकी राखेको छैन,’ उनले भने ।

हेलम्बु अध्यक्ष निमाग्याल्जेन शेर्पाले अस्थायी रूपमा आवतजावतका लागि चोक्पु खोलामा तुइन हालेको बताए । उनका अनुसार हेलम्बुको थापाचौर भूमेश्वरी क्षेत्र र चनौटे कार्कीटोल पाल्चोक क्षेत्रमा तुइन जोड्न प्राविधिक अध्ययन भइसकेको छ । ‘गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टरको विकल्प छैन्,’ उनले भने । हेलम्बुबाट मेलम्ची बजार र काठमाडौं जोड्न वैकल्पिक कच्ची सडक बनाइएको उनले बताए । चिसोपानी हुँदै कुटुम्साङ, घोप्टेघ्याङ पाटीभन्ज्याङ र चित्रे शेरा गरी काठमाडौ जोड्ने करिब ४० किलोमिटरका दुइटा वैकल्पिक सडक बनाइएको हो । ‘त्यहाँबाट एम्बुलेन्समार्फत बिरामी लैजाने रुट छ । तर अन्य इमर्जेन्सी परे हेलिकप्टर नै चाहिन्छ,’ उनले भने ।

यसैबीच, ३७ जनाको ज्यान जाने गरी जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोबाट विस्थापित परिवारले करिब एक वर्षपछि अस्थायी आवास पाएका छन् । विस्थापित परिवारका लागि नेपाली सेनाले जुगल–१ बासखर्कमा ३१ वटा घर, ७ वटा शौचालय, हेल्थ पोस्ट, क्यान्टिन र स्नान गृह बनाइदिएको हो । आइतबार सेनाको २६ नं वाहिनी अड्डाका वाहिनीपति विष्णु राउतले पीडित परिवार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई आवास हस्तान्तरण गरे । वडाध्यक्ष प्रताप लामाका अनुसार आवास निर्माणका लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५८ लाख २ हजार ४९, विभिन्न संघसंस्था र व्यक्तिबाट २० लाख २६ हजार ६ सय ८६ रुपैयाँ सहयोग आएको छ । 

(कान्तिपुर दैनिक)    

Related Post