जनप्रतिनिधिको कृषि मोह
News Desk
Aug-11 , 2021 तारिख 12:01 बेलुका

लुम्बिनी — २७ श्रावण २०७८  

लुम्बिनी, बर्दियाको राजापुर–५ का लुम्बिनी प्रदेशसभा सदस्य दीपेश थारू आफ्नो निर्वाचन क्षेत्रमा कृषकका रूपमा पनि उत्तिकै परिचित छन् । बिहानै उठेर फार्ममा रहेका बंगुरलाई दानापानी दिनेलगायत काम गरेर उनको दिनको सुरुवात हुन्छ । दिउँसोको समय भने जनताको कामका लागि छुट्याएका छन् ।२०६१ सालमा अदित एकीकृत कृषि फार्म दर्ता गरेपछि उनको व्यावसायिक कृषि कर्म सुरु भएको हो । १५ वटा बंगुरपालनबाट सुरु भएको उनको फार्ममा अहिले डेढ सय बंगुर छन् । वैदेशिक रोजगारी मात्रै विकल्प होइन भन्ने सोचले आफूले विभिन्न स्थानमा गई बंगुरपालनसम्बन्धी तालिम लिएर यसको थालनी गरेको उनले बताए । आफू निर्वाचित क्षेत्रमा ८२ प्रतिशत थारू समुदायको बसोबास रहेकाले दैनिक ५० भन्दा बढी बंगुर यसै क्षेत्रमा खपत हुने भएकाले बंगुरपालन व्यवसाय यस क्षेत्रमै राम्रो फस्टाइरहेको उनले बताए । ७ लाख रुपैयाँ लगानी गरेर सुरु भएको फार्ममा अहिले २० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको थारूले बताए ।

२०६८ सालमा स्वाइन फिभर नामक रोगले एकैपटक उनको फार्मका १ सय २० बंगुर मरे । तर थारूले हरेस खाएनन् । अहिले वार्षिक ३५ लाखका दरले आम्दानी भइरहेको उनले सुनाए । बंगुरपालन आफू, श्रीमती र आमाको सहयोगमा अघि बढिरहेको थारूले सुनाए । बंगुरलाई बिहान, साँझ विशेष हेरचाह चाहिने भएकाले उक्त समयमा आफू नै प्रायः उपस्थित हुने र हेरचाह गर्ने गरेको उनले बताए । विभिन्न जिल्लाका सहकारीबाट उनको फार्म हेर्न मानिस पनि आइराख्छन् । तत्कालीन कृषिमन्त्री गौरीशंकर चौधरीले राजापुरलाई कृषि जोनका रूपमा विकास गरेको र पछि बलदेव खनाल कृषिमन्त्री भएपछि राजापुरलाई सुपर कृषि जोन बनाउन सफल भएको थारूले बताए ।

थारूले चार बिघा खेत प्रतिबिघा ४० हजार रुपैयाँका दरले भाडामा लिई धान खेती गरिरहेका छन् । उनले उक्त खेतमा चाइनिज धानको बीउ रोपेका छन् । ‘प्रतिकट्ठा ६ क्विन्टलका दरले फल्छ,’ उनले भने । उनले बंगुरको दाना पनि बिक्री गर्ने गरेका छन् । आफ्ना मतदाताहरूले कामकै आधारमा मत दिएको र जिताएकाले कृषि र नेता दुवैको काम मिलाएर गर्न सकेकामा खुसी लाग्ने उनले सुनाए ।बर्दियाकै गुलरिया–३ मा प्रदेश सांसद तिलक शर्माको डायनामिक एग्रिकल्चर डेभलपमेन्ट फार्म सञ्चालित छ । उनले आठ वर्षदेखि व्यावसायिक रूपमा केरा र बेसार खेती गर्दै आएको बताए । दुई बिघामा ४ हजार केराका बोट छन् । त्यस्तै, सल्यान वान नामक बेसार १० कट्ठामा लगाएका छन् । ‘सांसद भइसकेपछि सोचेजति समय दिन नपाइने रहेछ,’ उनले भने, ‘बेसारलाई त्यति धेरै हेरचाह गर्न नपर्ने र केराका बोट पनि बढेपछि बिहान, बेलुका २ घण्टा समय दिए स्याहारसुसार गर्न सकिन्छ ।’ उनले अझै जमिन भाडामा लिई नयाँ खालको कृषि व्यवसाय गर्ने सोचले खोजी र अध्ययन गरिरहेको बताए ।

निर्वाचनमा होमिनु, विजेता बनेपछि जनताको सेवामा लाग्नु सामाजिक उत्तरदायित्व भएको भन्दै शर्माले खेतबारीमा पस्दा पनि बेग्लै खालको आनन्द आउने भएकाले कषिकर्म छोड्न नसकेको सुनाए । कृषिकर्म आम्दानी र स्वरोजगार बन्ने माध्यम हो भनी उदाहरण दिन पनि व्यावसायिक कृषि आवश्यक रहेको उनको भनाइ छ ।तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले साढे ५ बिघामा माछा, हाँस, बाख्रा, लोकल कुखुरा र मौरीपालन गरिरहेका छन् । उनको रोयल एग्रिकल्चर फुड प्रालिअन्तर्गत चारवटा माछा पोखरी छन् । जसमा ६० हजार भुरा हुर्किरहेको न्यौपानेले बताए । त्यस्तै, १ सय बोयर बाख्रा, ३ सय लोकल कुखुरा, १२ घार मौरी र १ सय हाँस पालिएको छ । पुर्खाले गरिरहेको काम नै उपयुक्त छ भन्ने सोचलाई जमानाअनुसार व्यावसायिकउन्मुख बनाउने प्रयास गरिरहेको उनको भनाइ छ । २०७० सालदेखि सुरु भएको उनको फार्ममा दुई परिवारका ६ जनाले रोजगारी पनि पाएका छन् । न्यौपानेले बिहान २ घण्टा र साँझ २ घण्टा फार्ममा समय दिने गरेको बताए ।

‘चार वर्षअघिसम्म दिनैभरि फार्ममै भइन्थ्यो,’ उनले भने, ‘अहिले वडाध्यक्षसमेत भएकाले राजनीतिका साथै व्यावसायिक कृषिकर्मलाई अघि बढाइरहेको छु ।’ ७ करोड रुपैयाँ लगानी भएको आफ्नो फार्मबाट वार्षिक ५० लाख आम्दानी भइरहेको उनले सुनाए । न्यौपानेले वडावासीलाई कृषिकर्मतर्फ आकर्षित र प्रोत्साहन गर्न मौरीको घार वितरण, विभिन्न फलफूलका बिरुवा प्रदान, कृषि प्रोत्साहन तालिम तथा पालिकाबाटै कृषक अनुदान कार्यक्रम अघि बढाएको बताए । जनप्रतिनिधि केही वर्षका लागि निर्वाचित भएको पद रहेकाले आफूले परिवार पाल्ने, बालबच्चा पढाउने स्रोतका रूपमा कृषिकर्म गर्दा सन्तुष्टि मिलेको उनले सुनाए ।

उनीहरूजस्तै कृषिकर्ममा रमाएका नेता कृषक हुन्, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद आचार्य । उनी बिहान ५ बजे उठेर गोठमा पस्छन् । तीनवटा मुर्रा भैंसी र एउटा जर्सी गाई पालेका छन् । दैनिक ३० देखि ३५ लिटर दूध डेरीमा पुर्‍याउँछन् । चार रोपनी जग्गामा बेमौसमी तरकारी खेती गरेका छन् । १० बजे वडा कार्यालय पुग्ने उनी साँझ ५ बजेपछि बारी र गोठमा रमाउने गरेको बताए । उनको आचार्य कृषि तथा पशुपालन फार्ममा लोकल कुखुरा डेढ सय, बट्टाई ढाई सय र ब्रोइलर कुखुरा ३ सय पनि हुर्किरहेका छन् । सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ बचत भइरहेको उनले बताए ।

‘घर खर्च चलेको छ,’ उनले भने, ‘हाम्रो पुर्ख्यौली पेसा नै कृषि हो, म पनि विगत आठ वर्षदेखि यही काममा रमाइरहेको छु ।’ आफूलाई कतिपयले गोठालो वडाध्यक्ष भन्ने गरे पनि फरक नपर्ने भन्दै आचार्यले कक्षा १२ सम्म पढेपछि कृषिलाई नै अँगालेको सुनाए । कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई खाली जमिनमा कृषि गरेबापत वडाबाट अनुदान दिइरहेको उनले बताए । ‘प्रतिरोपनी २ हजार रुपैयाँका दरले नगदका साथै मल र बीउमा ५० प्रतिशत अनुदान उपलब्ध छ,’ उनले भने, कृषिकर्म गर्नेकै लागि वडाले विशेष सुलभ कर्जा सुविधा पनि उपलब्ध गराएको छ ।’ 

(कान्तिपुर दैनिक) 

Related Post