२० युनिटसम्म विद्युत् निःशुल्क
News Desk
Aug-11 , 2021 तारिख 12:06 बेलुका

प्यूठान — २७ श्रावण २०७८ 

प्यूठान, गरिबीको रेखामुनि रहेका नागरिकको विद्युत् महसुल यहाँका स्थानीय तहले तिरिदिने भएका छन् । २० युनिटसम्मको विद्युत् महसुल स्थानीय तहले तिरिदिने योजना अघि सारेका हुन् । ‘गरिबीको रेखामुनि रहेका नागरिकको सहयोगका लागि २० युनिटसम्मको महसुल तिरिदिने योजना ल्याएका हौं,’ प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले भने । अहिले त्यस्ता नागरिकको तथ्यांक संकलन गर्ने काम भइरहेको उनले बताए । उज्यालो नगर कार्यक्रमअन्तर्गत विपन्नलाई सहयोग गरेको उनको भनाइ छ । मासिक विद्युत् महसुल तिर्न नसकेर धेरैले अझै पनि विद्युत् उपभोग गरेका छैनन् । ‘महसुल तिरिदिए बत्ती बाल्ने थियौं भन्ने नगरमा धेरै छन्,’ नगर प्रमुख कक्षपतिले भने, ‘यो कार्यक्रमले विपन्नलाई राहत पुग्ने निश्चित छ ।’ कार्यक्रमका लागि नगरपालिकाले ४० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको कक्षपतिले बताए ।

१० युनिटसम्म संघीय सरकार आफैंले विद्युत् महसुल छुट गरेको छ । बाँकी १० युनिट थप गरेर महसुल छुट दिने योजना ल्याएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले बताए । अधिकांशको रोजगारी छैन, आयस्रोत नहुँदा बत्ती बाल्न नपाएर बसेकाहरू कार्यक्रमबाट लाभान्वित हुनेछन् । उनका अनुसार कार्यक्रमबाट नगरभित्रका ५ हजार उपभोक्ता लाभान्वित हुनेछन् । विद्युत् महसुल प्रत्येक चौमासिकमा भुक्तानी गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र बुटवल पावर कम्पनीसँग सम्झौता भएको रोकायले बताए । विद्युत् महसुल तिर्न नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विद्युत् महसुल तिर्न नसकेर बत्ती बाल्न नपाएर बसेका धेरै छन् । विपन्न परिवारका विद्यार्थीले अहिले पनि टुकीको भरमा पढ्नु परेको छ ।

 

माण्डवी गाउँपालिकाले पनि नागरिकले प्रयोग गर्ने २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने योजना ल्याएको छ । आर्थिक वर्ष ०७८/०७९ मा गाउँपालिकाका ३ हजार ५ सय परिवारका लागि २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने भएको हो । ‘गाउँपालिकाका सबै नागरिकको २० युनिट महसुल गाउँपालिकाले तिर्नेछ,’ गाउँपालिका अध्यक्ष श्रीधर रोकाले भने, ‘२० युनिटभन्दा बढी आउनेले त्यसपछिको तिर्नुहुन्छ ।’ यसका लागि करिब ३० लाख रुपैयाँ आवश्यक पर्छ । तर, अहिले गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी रकम आवश्यकता अनुसार व्यवस्था गरिने उनले बताए ।स्थानीय तहले अघि सारेको निःशुल्क विद्युत्को कार्यक्रमले विपन्न जनतामा खुसी छाएको माण्डवी गाउँपालिका–२ धनचौरका तुलबहादुर खड्काले बताए । ‘आर्थिक अवस्था कमजोर भएका कारण बत्ती बाल्न नपाएकाहरूका लागि यो ठूलो राहत हो,’ उनले भने ।

 (कान्तिपुर दैनिक)  

Related Post