News Desk
काठमाडौँ — २७ श्रावण २०७८
काठमाडौँ, संस्थापन पक्षले पार्टी विधानमा एकतर्फी रूपमा व्यापक हेरफेर गरेपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौताभन्दा संघर्षमा जोड दिने नीति लिएका छन् । दुई अध्यक्ष बनाउन र समान अधिकारसहित शक्ति बाँडफाँट गर्न ओली तयार नभएपछि नेपाल राजनीतिक र सांगठनिक रूपमै संस्थापन पक्षसँग संघर्ष गर्ने निष्कर्षमा पुगेका हुन् । एमालेमा सबै ढोका बन्द भए विद्रोह गर्ने मनस्थिति उनले बनाएका छन् ।नेता नेपाल तत्काललाई एमालेमै रहेर राजनीतिक र वैचारिक रूपमा ओलीका कदमको भण्डाफोर गर्ने, देशव्यापी समानान्तर संगठन निर्माण तथा गतिविधि बढाउने र अन्तिम अवस्थामा नयाँ पार्टी गठन गर्नेसम्मका योजनासहित आन्तरिक संघर्ष गर्ने तयारीमा लागेका छन् । संघर्षको बलमा ओलीलाई सम्झौतामा आउन बाध्य पार्ने र उनी सम्झौतामा नआए ‘विद्रोह’ मा जाने उनको रणनीति छ ।
‘हामी राजनीतिक–वैचारिक र संगठनात्मक संघर्षको बलमा एकताकै पक्षमा छौं । तर ओलीले सम्पूर्ण रूपमा ढोका बन्द गरे विद्रोहको विकल्प खुला छ । यसका लागि हामी तयार पनि छौं,’ नेपालनिकट एक केन्द्रीय सदस्यले भने, ‘ओलीले आफ्नो गुटको केन्द्रीय कमिटी बैठकबाट जे निर्णय गराएका छन्, त्यसले एकताको वातावरण धेरै हदसम्म बिगार्यो, अब आफ्नो तयारीमा लाग्नुपर्छ भन्ने माधव कमरेडको प्रस्ट सन्देश छ ।’मंगलबार आफूनिकट अनेरास्ववियुले गरेको कार्यक्रममा वरिष्ठ नेता नेपालले ओलीसँगको सम्बन्ध र आगामी कदमबारे पनि संकेत गरेका थिए । ‘हामी अगाडि बढ्छौं, शिर निहुराउने छैनौं । कसैको टाङमुनि छिर्नेवाला छैनौं । अँध्यारो सुरुङमा जानेवाला छैनौं,’ उनले भनेका थिए, ‘दम्भी, अहंकारी र गलत ढंगले चल्नेवालालाई चुनौती दिएर नै अगाडि बढ्ने छौं । हामी जायज र नाजायज कुराको मूल्यांकन गर्दै अगाडि बढ्छौं ।’
साउन २२ मा बसेको नेपाल समूहका केन्द्रीय सदस्यको बैठकले एकता प्रयास जारी राख्ने र त्यसका लागि संस्थापन पक्षले संगठनात्मक गतिविधि रोक्नुपर्ने सर्त राखेको थियो । सोमबार केन्द्रीय कमिटी बैठकबाट ओलीले विधान संशोधन मस्यौदा पारित गरेपछि नेपाल समूहभड्किएको हो । नेपाल समूहले जनसंगठन र मातहत अन्य कमिटीको गठन र भेलालाई पनि नरोक्ने भएको छ । संस्थापन पक्षले एकतर्फी काम अघि बढाइरहे सदस्यता वितरण, नवीकरणलगायतका काम पनि गर्ने नेपाल समूहको योजना छ । ‘हामी चुप लागेर बस्ने कुरा हुँदैन । एकता कहिले हुने हो ! योबीचमा सबै कार्यकर्तालाई घर बस भन्न मिल्छ र ?’ नेपालनिकट उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘उहाँहरूले पनि गतिविधि अगाडि बढाइरहनुभएको छ । हाम्रा साथीहरूले पनि गतिविधि अगाडि बढाउनुपर्छ, बढाइरहनुभएको छ । भोलि एकै ठाउँ हुँदा सबै समस्या हल हुन्छ ।’
नेपाल समूहका एक केन्द्रीय सदस्यले ओलीले कुनै पनि विषयमा सहमति नगरे विद्रोह हुने बताए । एकताको पक्षधर मानिने उनले भने, ‘दसबुँदेमा टेकेर त्यसलाई कार्यान्वयन गरौं र सकिन्छ भने शक्ति बाँडफाँट गरेर एकतामा जाऔं भन्ने हो । त्यसमा ओली तयार नभए विकल्पबारे छलफलको विषय हुन्छ ।’ नेपाल समूहका अर्का एक केन्द्रीय सदस्यले साउन अन्तिमसम्म पर्खने आफूहरूको प्रयासलाई ओलीको कदमले निस्तेज पारेको बताए । ‘साउनभर हेरौं भन्ने थियो तर ओली अगाडि बढिसके । आज (मंगलबार) पनि संसद्मा तथानाम बोले । यति भएपछि अब उनका कदमको कठोर भण्डाफोरबाहेक अरू विकल्प छैन,’ उनले भने ।नेपाल समूहले प्रतिनिधिसभा विघटनको कदम गलत थियो भनेर एकताको आधार बनाउनुपर्ने राजनीतिक अडान राख्दै आएको छ । यही मुद्दामा देशव्यापी भण्डाफोर गर्ने नेपाल समूहको योजना छ । नेपाल पक्षका केन्द्रीय सदस्य विरोध खतिवडाले ओलीले एकताको ढोका बन्द गरेकाले अब आफ्नो ढंगले अगाडि बढ्ने बताए ।
वरिष्ठ नेता नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि बृहत्तर वाम एकता र लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्ने कार्यसूची बनाएका छन् । नेपाल समूहका कतिपय नेता भने अझै एकताको प्रयासमै लाग्नुपर्ने पक्षमा छन् । ‘सोमबारको निर्णयले समस्या सिर्जना गर्यो । तर यसले एकताको ढोका पूरै बन्द भयो भन्न मिल्दैन किनभने विधान संशोधन त प्रस्ताव मात्रै हो । भोलि एकता भइसकेपछि यसमा हेरफेर गर्ने ठाउँ छ,’ एमाले उपाध्यक्ष ज्ञवालीले भने । नेपाल समूहमा दोस्रो तहका नेताहरू एकताकै प्रयत्नमा लाग्नुपर्ने पक्षमा छन् । तेस्रो तहका नेता र सांसदले भने विकल्पमै जोडबल गरिरहेका छन् । केन्द्रीय सदस्य विरोध खतिवडाले ओलीको पछिल्लो कदमले नयाँ विकल्पमा अगाडि जानुपर्ने मत हाबी हुने बताए ।
(कान्तिपुर दैनिक)